Logo

मनोरञ्जन

‘साहित्य, चलचित्रले देशको जिम्मेवार व्यक्तिलाई सजग गराउने हो, यस्ता चलचित्रलाई राज्यले सघाउनु पर्छ’



काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले चलचित्र र मनोरञ्जन जनताको मौलिक अधिकार रहेको बताएका छन् ।

मङ्गलबार काठमाडौँमा चलचित्र ‘काँडेतार’ निर्माण समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले नरम शक्तिका रुपमा चलचित्र, साहित्य र कला रहेका बताए ।

“नरम शक्तिको महत्वपूर्ण अङ्ग चलचित्र हो । अन्य देशमा चलचित्रको माध्यममा धारणा निर्माण हुने गरेको छ । हामी कहाँ चलचित्र प्रदर्शनमै सास्ती भोगेको सुनिन्छ । यस्तो हुनु नरम शक्तिलाई समाप्त पार्नु हो”, नेता रावलले भने, “साहित्य, चलचित्रले देशको जिम्मेवार व्यक्तिलाई सजग गराउने हो । यस्ता चलचित्रलाई राज्यले सघाउनु पर्छ ।”

चलचित्रका निर्माता तथा निर्देशक नवल खड्काले सार्वभौमसत्ता, सीमा मिचिएकोदेखि सीमा व्यवस्थित गर्ने सन्दर्भ चलचित्रमार्फत उठान गरेको बताए । “हामीलाई सहयोग गर्ने विषयमा नै सास्ती भोगिरहेका छौँ । पछि हट्दैनौँ बरु अदालत जान्छौँ”, उनले भने ।

चलचित्रमा निर्देशक खड्कासँगै सुरविना कार्की, गौरव पहारी, रेविका गुरुङ, प्रशान्त यादव, मुरलीधरण, प्रेम सुब्बा, सञ्जल खतिवडा, रोमियान लिम्बू, पुष्पा श्रेष्ठ, रवि शाह लगयतका कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : बैशाख २७, २०८० बुधबार  १ : १७ बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।