काठमाडौँ । पद्मकन्या माध्यमिक विद्यालय, डिल्लीबजारमा ट्राफिक क्लब गठन गरिएको छ ।
क्लब गठनपछिको प्रतिक्रियामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले भने, ‘मैले मेयर पदमा उम्मेदवारी दिने समयमा ट्राफिक व्यवस्थापन गर्ने कामलाई प्रमुख प्राथमिकतामा राखेको थिएँ । मतदातासँग त्यसबेला गरिएको प्रतिवद्धता पूरा गराउने कार्यक्रम सुरु गर्दै, नेपालमा नै पहिलो पटक विद्यालयमा ट्राफिक क्लब स्थापना गरेका छौँ । बालबालिकालाई ट्राफिक नियम, सडक सुरक्षा र सडक अनुशासनका बारेमा व्यवहारिक ज्ञान दिन क्लब गठन गरिएको हो । क्लवमा १० जना सदस्य हुनेछन् ।’
क्लबमा आवद्ध विद्यार्थीहरुको कामका बारेमा जानकारी दिँदै प्रमुख शाहले भने, ‘काठमाडौँका धेरै स्कुलहरू व्यस्त सडक किनारामा छन् ।
यस्ता विद्यालयका सदस्यहरु बिहान खुल्ने र साँझ बिदा हुने समयमा सक्रिय हुन्छन् । उनीहरुले ४/४ जनाको समूह बनाएर सडक पार गर्दा अपनाउने पर्ने सावधानी सम्झाउँदै पैदल यात्रुका दायित्वका विषयमा विद्यार्थीहरुलाई सम्झाउँछन् । उनीहरुलाई सडक पार गर्न सहयोग गर्ने जिम्मेवारी पनि क्लवका सदस्यहरुलाई दिइएको छ ।’
ट्राफिक क्लबमा ‘जेब्रा क्रसको संकेत राखिएको ठाउँबाट मात्र सडक पार गर्नुपर्छ । रातो बत्ती बलेको बेलामा बाटो काट्न हुँदैन । चालक तथा यात्रुले संकेत बत्तीको निर्देशन पालना गर्नुपर्छ । ‘स्टप’ मा रोकिने । ‘गो’ मा मात्र जाने बानीको विकास गराउनुपर्छ ।’ जस्ता विषयमा बालबालिका उमेरदेखि नै शिक्षासँगै ज्ञान दिने गरी मेयरले पद्मकन्या विद्यालयबाट यसको थालनी गरेको बताए ।
क्लबलाई ट्राफिक कोन, स्टप, गो बोर्ड, ब्याटन लाइट, फ्लोरोसेन ज्याकेट लगायतका आवश्यक सामग्री दिइएको छ । गठन भएको क्लबले विद्यालयको पिक आवरमा बाटो काट्नको लागि सहयोग गर्ने गरी उनीहरुलाई प्रशिक्षण दिइएको छ ।
प्रतिक्रिया