Logo

प्रमुख समाचार

चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक रहेको बताएका छन् ।

सोमबार चिकित्सा शिक्षा आयोगको एघारौं बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रमा हालसम्म विभिन्न अनुभवहरुको समीक्षाका आधारमा नयाँ संश्लेषणमा पुग्नु जरुरी रहेको बताए ।

उनले चिकित्सा क्षेत्रका हरेक समस्यालाई समाधान गर्नेगरी ऐन निर्माणको कार्यलाई पूर्णता दिन निर्देशन दिए ।

प्रधानमन्त्री प्रचण्डले भने-‘कैयौं युवा डाक्टरहरुले लाखौं खर्च गरेर पढ्नुभएको छ । तर, ३० देखि ४० हजारको जागिर छ नेपालमा । अनि किन नेपाल बस्ने भन्दै विदेशमा यो, त्यो सुविधा हुन्छ भन्ने गरेको सुनेको छु । यो सबै समस्या हल गर्ने किसिमले ऐनमा व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

‘देशको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक लगायत समग्र अवस्था जस्तो छ, त्यसको प्रतिबिम्ब सबै क्षेत्रमा पर्नु स्वभाविकै हो । स्वास्थ्य क्षेत्र पनि देशको समग्र अवस्थाको एउटा हिस्सा हो । यहाँ पनि ती समस्याको प्रतिबिम्बन भएको छ । जसरी अरु क्षेत्रमा सुधार गर्नुपर्ने अवस्था छ, गुणात्मक सफाई नै गर्नुपर्ने आवश्यकता छ’, प्रधानमन्त्री प्रचण्डले बताए ।

बैठकका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बैठकमा चिकित्सा शिक्षाबारे सजीव छलफल भएको भन्दै खुशी व्यक्त गरे । बैठकमा आयोगका सदस्यहरुले राष्ट्रिय पाठ्यक्रम प्रारुप तयार गर्नेबारे, जनशक्ति प्रक्षेपण, चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति निर्माणबारे आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : जेष्ठ ८, २०८० सोमबार  ३ : १४ बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।