दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको जीवनस्तरमाथि उठाउन, देशलाई मर्यादित, विकसित र अग्रगामी दिशामा अघि बढाउन शिक्षण संस्थाको महत्वपूर्ण भूमिका हुने बताए ।
दाङको बेलझुण्डीमा आज आयोजित नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, छात्रछात्रा र सम्पूर्ण शुभचिन्तक राजनीतिक आस्था एवम् दलगत अभ्यासदेखि माथि उठेर शैक्षिक तथा प्राज्ञिकस्तर अभिवृद्धि गर्न समर्पित हुनु जरुरी रहेको औँल्याए । विश्वविद्यालयबाट आर्जित ज्ञान, सीप र दक्षताको व्यावहारिक प्रयोगको बेला आएको उल्लेख गर्दै उनले कर्तव्यप्रतिको निष्ठा, आफूले आर्जेको ज्ञानप्रतिको विश्वास र दृढ इच्छाशक्तिका साथ यस विश्वविद्यालयको मर्यादा र प्रतिष्ठालाई ध्यानमा राखी अनुशासित भएर राष्ट्रसेवा र लोकहितमा प्रवृत्त हुन छात्रछात्रालाई आग्रह गरे।
सरकारले नेपालभित्रै गुणस्तरीय शिक्षाको विकास एवम् प्रवद्र्धनका लागि विश्वविद्यालयबीच प्रभावकारी समन्वय र प्रतिस्पर्धालाई बढावा दिन चाहेको उल्लेख गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले विश्वविद्यालयको अध्ययन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउन सरकारले स्पष्ट योजना अगाडि सारेको बताए।
प्रधानमन्त्री दाहालले विद्यार्थी तथा विश्वविद्यालयको जनशक्तिको क्षमता विकास हुने गरी सरकारी क्षेत्रका अध्ययन, अनुसन्धानका कार्य र सरकारी कार्यक्रमका लागि आवश्यक परामर्श सेवा विश्वविद्यालयमार्फत गर्ने व्यवस्था मिलाउने प्रतिबद्धतासमेत व्यक्त गरे । अध्ययन गर्नु वा ज्ञान प्राप्त गर्नु र त्यसलाई व्यवहारमा उतार्नु सबैभन्दा महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै उनले दीक्षित विद्यार्थीलाई राष्ट्रको नवनिर्माणमा आफ्नो बौद्धिक क्षमता, शारीरिक शक्ति र मानसिक एकाग्रताको भरपूर उपयोग गर्न शुभकामना दिए ।
नेपालमा उच्च शिक्षाको विकास, विस्तार र स्तरीकरणमा नेपाल संस्कृत विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जनाउँदै उनले पौरस्त्य मूल्यमान्यता, संस्कार, संस्कृति र आदर्शको सम्वद्र्धन एवम् विकासमा विश्वविद्यालयले दिएको योगदान अत्यन्त प्रशंसनीय रहेको बताए । विविध कारणले गर्दा नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह विगत बाह्र वर्षयता सम्पन्न हुन नसकेकातर्फ पदाधिकारीको ध्यानाकर्षण गराउँदै उनले छात्रछात्राको वर्तमान र भविष्यसँग गाँसिएका यस्ता कार्यक्रमलाई समयमै आयोजना गर्न विश्वविद्यालय प्रयत्नरत रहनुपर्ने बताए ।





















प्रतिक्रिया