काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट नियन्त्रणमा लिएको छ । चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग आरोपमा मुद्दा खेपिरहेका नेपाल विद्यार्थी संघका कार्यकर्ताविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि आमरण अनशनका लागि जिल्ला अदालत काठमाडौं पुगेका चलाउनेलाई प्रहरीले अदालत परिसरबाट पक्राउ गरेको हो।
त्रिवि समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० मा त्रिवि परिसर कीर्तिपुरमा आक्रमण भएको थियो । आक्रमणबाट बर्षौ थलिएर बसेका चलाउने विगत एक वर्षदेखि सरकारले मुद्दा फिर्ता लिन लागेको भन्दै मुद्दा फिर्ता लिन अपील गरिरहेका थिए । चलाउनेमाथि आक्रमण गरेको आरोप लागेका नेविसंघका हरि आचार्य, योगेन्द्र रावलसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा चलाउनेले मुद्दा दर्ता गरेका थिए । यो मुद्दा सरकारले हिजो मात्रै फिर्ता लिने निर्णय गरेको छ ।
सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेसँगै चलाउनेले वक्तव्य जारी गरेर सरकार नै आफू विरुद्ध लागेको भन्दै मृत्युसम्म न्यायको लडाईँ लड्ने बताएका छन् ।अघिल्लो सरकारका पालामा तत्कालीन महान्यायाधिवक्ता खम्मबहादुर खातीले मुद्दा फिर्ता हुँदा फरक नपर्ने र कानूनको प्रतिकूल नहुने भन्दै राय दिएका थिए । त्यही रायको आधारमा अघि बढेको फाइल बालकृष्ण गृहमन्त्री हुँदा निर्णय भएर कानून मन्त्रालयमा थन्किएको थियो ।
हालै कानून मन्त्रालयमार्फत मन्त्रिपरिषद् पुगेर मुद्दा फिर्ता लिने निर्णय हो। मन्त्रिपरिषद्को निर्णय जिल्ला सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत, काठमाडौंमा आइतबार दर्ता भएको हो ।
मुद्दाको अन्तिम पेशी ५ असारलाई तोकिएका बेला अन्तिम समयमा मुद्दा फिर्ता लिन सरकारले निर्णय गरेको गरेको पत्र जिल्ला अदालत, काठमाडौंमा दर्ता भएपछि चलाउने अनसनका लागि काठमाडौं जिल्ला अदालत गएका हुन । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला पनि मुद्दा फिर्ता लिने पटकपटक प्रयास भएको थियो । तर, तत्कालीन कानूनमन्त्री गोविन्द बन्दीले रोकेका थिए ।
घटनामा नेविसंघका नेता आचार्य र रावलसँगै दीपकराज ओझा, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ र निरज रानामगर पनि प्रतिवादी छन् । आक्रमणबाट उपप्राध्यापक चलाउनेको टाउको, छाती, घाँटी, तिघ्रामा चोट लागेको थियो । आक्रमणपछि एक महिना अस्पतालमा भर्ना भएर उपचार गरेका चलाउने लामो समयसम्म वैशाखी टेकेर हिँडिरहेका थिए ।
घटनापछि जिल्ला सरकारी वकिल कार्यालयले आचार्य, रावल लगायतमाथि ज्यान मार्ने उद्योग गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । आरोपितहरु जिल्ला अदालत काठमाडौंको आदेशमा धरौटीमा छुटेका थिए । उनीहरुलाई सामान्य धरौटीमा छाडिएको भन्दै चलाउनेले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।
उच्च अदालत पाटनले पाँच लाख धरौटीमा छाड्न र पीडितलाई एक लाख रुपैयाँका दरले तत्काल राहत दिन समेत आदेश दिएको थियो । मुद्दा विचाराधीन रहेकै अवस्थामा गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पत्र पठाएर मुद्दा फिर्ताको प्रतिवेदन तयार पार्न लगाएको थियो ।
काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको नेतृत्वमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका तत्कालीन निमित्त प्रमुख लक्ष्मण घिमिरे र महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रमुख सुदीप गिरीको टोलीले प्रतिवेदन तयार पारेको थियो ।
आरोपितहरुले नै मुद्दा फिर्ताको निवेदन दिनुपर्नेमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौं र नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालय काठमाडौंले ५ माघ २०७८ मा गृह मन्त्रालयमा मुद्दा फिर्ताको निवेदन दिएको थियो । त्रिभुवन विश्वविद्यालयमा शिक्षा हासिल गर्ने र शान्ति सुरक्षामा गम्भीर असर परेको भन्दै प्रतिवेदनमा मुद्दा फिर्ता लिएमा शान्ति सुरक्षा र अमनचयन कायम हुने उल्लेख थियो ।
मुद्दा फिर्ता लिएमा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र आम नागरिकमा सकारात्मक प्रभाव पर्ने उल्लेख थियो । तर कसरी सकारात्मक प्रभाव पर्छ भन्ने व्यहोरा भने खुलाइएको थिएन ।
उपप्राध्यापक चलाउनेको व्यक्तव्य जस्ताको तस्तैः
यो देशको मत्स्य न्याय
प्रेम चलाउने
प्रीयजनहरु,
म माथिको संगठित अपराध घाम जत्तिकै छर्लङ्ग घटना हो । ब्रड डे लाइटमा उनीहरु पेशेवर अपराधीसहित मलाई मार्न आएका थिए । न्यायका निम्ति म अदालतको ढोका ढकाइरहेको थिए। मेरा आँखा देशको न्यायालयतर्फ थिए । यही असार पाँच गते जिल्लामा मेरो अन्तिम सुनुवाइको पेशी थियो ।
मलाई न्याय दिनुको साटो अदालतलाई समेत बाइपास गरेर सुनुवाई हुनुभन्दा दुई दिन अधि सरकारले मुद्दा फिर्ताको निर्णय लियो। क्याबिनेटबाट मुद्दा फिर्ता लिएर सिंगो राज्य मेराविरुद्ध लाग्यो । जे गर्थ्यो अदालतले गर्थ्यो । अदालतमा विचाराधीन हरेक मुद्दा यसरी नै सरकारले फिर्ता लैजाने हो भने अदालत चाहियो किन रु
यो सरासर अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण हो । दण्डहिनता बढाउने खेल हो । अबदेखि कुनै अपराधीले कुनै अमुक पार्टीको ब्यानरमा कसैको हत्या गरे पनि उसलाई केही नहुने भयो । सिंगो राज्य मेराविरुद्ध लागेपछि मेरा अघि केही विकल्प बाँकी रहेन । शिवाय मर्न ।
प्रीयजनहरु म आमरण अनसन थाल्दैछु । म गुहार माग्न सडकमा आउँदैछु । म मरे पनि केही छैन । मात्र मैले भोगेको अन्यायको महाभारतको बारेमा छलफल होस् । यो देशको मत्स्य न्यायको बारेमा चियोचर्चो होस् ।
शक्ति सन्तुलनको महत्त्वपूर्ण निकायलाई कस्तो बनाइदैछ भन्ने बारेमा छलफल होस् । मेरो लडाइँ हजारौं प्रेमबहादुर चलाउनेको लडाइँ हो । आज म जहाँ छु, यो देशमा शिक्षकको ठाउँ यही रहेछ । विश्वविद्यालयमा अपराध बढेको छ । अपराधी गिरोहले शिक्षक, कर्मचारीको निरिहताको फाइदा उठाएका छन् । शिक्षकहरु बोल्न सकेका छैनन् । म किन पनि यो लडाइँ लडिरहेको छु भने मलाई भन्नु छ तिमीले ठाने जस्तो शिक्षकहरु कायर हुँदैनन् । पर्यो भने आफूले वा देशको कुनै नागरिकले भोगेको अन्यायका विरुद्धमा ज्यानको बाजी थापेर पनि लडछन् ।
अभियुक्त ७ जनामध्ये ३ जना त भागिसकेका छन् । सातै जनाले अदालतको तारेख गुजारेर बसेका छन् । उनीहरु सबैजना पटक पटक कहिले प्रहरीको कस्टडी त कहिले अदालतको आदेशबाट भागि हिँडेका व्यक्ति हुन यस्ताको मुद्दा कसरी फिर्ता लिइयो विश्वविद्यालयमा दण्डहिनता कम भयो भनेर हो रु कुलपतिज्यूले प्राध्यापक मारिनु पर्छ, पिटिनु पर्छ, तिमी सबै भय र त्रासमा बाँच्नु पर्छ भन्न खोज्नु भएको हो रु पूर्वाञ्चल विश्वविद्यालयमा भएको अस्ति ुभर्खरको घटनाको खाटा पनि बस्न पाएको छैन । यस्ता घटनालाई निरन्तरता दिइराख्नका लागि होस गरी मन्त्रिपरिषद्मा लान नसकेको यो मुद्दामा सरकारले फिर्ता लिने दुस्साहस गर्यो ।
अब सबैबाट बन्द गरेपछि आज यहीँबाट सत्याग्रह सुरुमा विचाराधीन मुद्दा शक्तिको आडमा फिर्ता लिने कुरा मलाई स्वीकार्य छैन, यो देशको विधिको शासनतन्त्र। अदालतलाई यो बेन्चलाई अचानो बनाइँदैछ । मानवताको हत्या सत्य या सदाचार, नैतिकता, इमान्दारिताको हत्या गरिँदैछ । मलाई राज्यले न्याय दिन सकेन । यो देश गुण्डा, अपराधीको देश रहेछ । मलाई यो अपराधिको देशमा बाँच्नु छैन । राज्यले मलाई थप अन्याय गर्यो । त्यसैले म जस्ता हजारी पीडित राज्यवार थप पीडित हुन नपरोस् भनेर न्यायका खातिर आमरण अनशन सुरु गर्दैछु न्यायप्रेमी जनताहरुको साथ सहयोगको अपेक्षा सहित न्यायका खातिर बोलिदिन हुन अपिल गर्दछु।
उप प्रा. प्रेमबहादुर चलाउने





















प्रतिक्रिया