काठमाडौं । आफूमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।
मुद्दा फिर्ता लिने सरकारको निर्णय कानुनसम्मत नभएको र अपराधीलाई संरक्षण गर्ने प्रकृतिको रहेको भन्दै उनी सरकारको निर्णय बदर गर्न माग गरेका हुन् । रिट दर्ता भएसँगै त्यसको पेशी भोलि बिहीबारका लागि तोकिएको छ ।
समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि २० असोज २०७७ मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा नै सांघातिक आक्रमण भएको थियो ।
उक्त घटनामा नेपाल विद्यार्थी संघ त्रिवि इकाइ समितिका तत्कालिन सभापति हरि आचार्य, महासचिव योगेन्द्र रावललगायत विरुद्ध काठमाडौं जिल्ला अदालतमा ज्यानसम्बन्धी मुद्दा दायर भएको थियो ।
सरकारको उक्त निर्णयको चौतर्फी विरोध भइरहेको छ । चलाउनेले त्रिवि भिसी कार्यालयअगाडि आमरण अनसन पनि सुरु गरेका थिए ।
चलाउनेले रिट निवेदनमा मुद्दा फिर्ता लिने सबै प्रक्रिया रोक्न माग गरेका छन् ।





















प्रतिक्रिया