काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले ‘नेपाल–भारत लिटरेचर फेस्टिभल’ अन्तर्गत नेपाल–भारत पुस्तकालयमा ‘पुस्तक विमोचन तथा छलफल’ कार्यक्रम आयोजना सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति भूपाल राईको हातबाट दुईवटा पुस्तक विमोचन गरिएको थियो । नेपालका वरिष्ठ साहित्यकार डा. रामदयाल राकेशद्वारा समकालीन नेपाली कविताहरूको हिन्दी अनुवाद ‘कन्टेम्परेरी नेपाली पोय्म्स’ विमोचन गरिएको छ । यससँगै त्रिभुवन विश्वविद्यालयका हिन्दी प्राध्यापक डा. श्वेता दीप्तीका अनुसन्धानात्मक लेखहरूको सङ्कलन ‘साहित्यशोध समिधा’ पुस्तकको पनि विमोचन गरिएको छ ।
प्रमुख अतिथि भूपाल राईले आफ्नो मन्तव्यमा नेपाल र भारतबीचको सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई मजबुत बनाउन भाषा र साहित्यको महत्वपूर्ण भूमिका रहेको बताए । उनले नेपाली लेखकहरुको सहभागिता र रचनात्मकताको प्रशंसा गर्दै समय समयमा यस्ता साहित्यिक कार्यक्रम आयोजना गरेकोमा भारतीय दूतावासप्रति आभार व्यक्त गरे ।
साहित्य र अनुवादको महत्वमाथि प्रकाश पार्दै डा रामदयाल राकेशले आफ्नो सम्बोधनमा विगतदेखि यस दिशामा भइरहेका प्रयास र विभिन्न गतिविधिका बारेमा प्रकाश पारे ।
डा. श्वेता दीप्तीले आफ्नो पुस्तकको विषयवस्तु र शीर्षकमा प्रकाश पारिन । उनले आफ्नो साहित्यिक यात्राको विषयबारे पनि उल्लेख गरिन् ।सो अवसरमा वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् डा गंगाप्रसाद अकेलाले पनि आफ्नो धारणा राखेका थिए ।
स्वामी विवेकानन्द केन्द्रका निर्देशक डा आसावरी बापटले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममासाहित्यकार, कवि, शिक्षक र भाषाप्रेमीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
भारतीय दूतावासले समय–समयमा साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी नेपाल–भारतबीचको साहित्यिक सम्बन्धलाई मजबुत बनाउने काम गरिरहेको छ ।



















प्रतिक्रिया