काठमाडौं । नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियुले कुनै पनि शैक्षिक संस्थामा तालाबन्दी नगर्न सर्कुलर जारी गरेको छ ।
अनेराश्ववियुले आफ्ना संगठनका सबै नेता तथा कार्यकर्ताहरुलाई शिक्षा क्षेत्रका कुनै पनि ठाउँमा तालाबन्दी नगर्न सर्कुलर जारी गरेको हो ।
अनेरास्ववियुले जारी गरेका सर्कुलरमा भनिएको छ, ‘शैक्षिक आन्दोलनको नाममा हुने तालाबन्दीको कारण विद्यालय, क्याम्पस र विश्वविद्यालयहरूमा पठन पाठन प्रभावित भई रहेको वर्तमान अवस्थामा तालबन्दी रहित शिक्षालय र शैक्षिक सुधार अभियान अन्तर्गत अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने घोषणा गरेकोमा मातहतका कमिटीहरुलाई कुनै पनि शैक्षिक संस्थामा तालावन्दी नगर्न र गरिएको भए तत्काल ताला खोलेर आन्दोलनलाई धर्ना, रिले अन्सन र सत्याग्रह लगायत अन्य रचनात्मक माध्यमबाट सरोकारवाला विद्यार्थीहरुको सहभागितामा अगाडि बढाउन निर्देशन गरिएको छ ।’
सर्कुलरमा थप भनिएको छ, ‘विद्यार्थीहरुको हकहित र अधिकारको लागि सदैव लड्दै आइरहेको संगठन हुनको नाताले शिक्षा क्षेत्रमा देखिएका बेथिति अन्त्यका लागि सधैं अग्रमोर्चामा रहने प्रतिबद्धता समेत व्यक्त गर्दछौँ ।’
अनेरास्ववियुका अध्यक्ष समिक बडालले शिक्षा क्षेत्रमा तालाबन्दी गर्दा देशको शिक्षा क्षेत्र आरालो लागेकाले आन्दोलनमा तालाबन्दी हटाउन अनेरास्ववियुले सुरुवात गरेको बताए ।अनलाइनपानासँगाको कुराकानीमा उनले भने, ‘च्याउसरी संगठन खोल्ने र १५ रुपैयाँको ताला किनेर तालाबन्दी गर्ने परिपाटीको अन्त्यको लागि यो सुरुवात हो। जनमतको आधारमा विद्यार्थी संगठन चल्नुपर्छ । विद्यार्थी संगठन खोल्ने विषयलाई पनि निरुत्साहित गर्नुपर्छ । तालाबन्दीले शैक्षिक क्यालेण्डर नै प्रभावित भएको छ । आन्दोलनको नयाँ रुपहरु हामी प्रयोग गर्छौ ।’
अध्यक्ष बडालले नेपालमा शैक्षिक क्षेत्रमा तालाबन्दी गरेर आन्दोलन गर्दा विश्वविद्यालयहरु रित्तिन थालेको, कक्षा १२ पछि नेपालको पढाईमा विश्वास नभएका कारण जापान, बेलायत, अमेरिकाजस्ता देशमा जानेको संङ्ख्या बढेको र नोपालका विदेशी विद्यार्थी नआएकाले विकल्प खोज्न बाध्य बनाएको बताए ।






















प्रतिक्रिया