काठमाडौं । कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार काठमाडौं आएकी छन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने कार्यसूची छ ।
विश्वासको मत लिने प्रदेशसभा बैठकको अध्यक्षता नगर्ने भन्दै उनी काठमाडौं आएकी हुन् ।
सोमबार बिहान ८ बजे बस्नेगरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी उपसभामुख दनुवारले उपसभामुखको अनुपस्थितिमा ज्येष्ठ सदस्यले बैठक चलाउने प्रावधानअनुसार कांग्रेस सांसद इस्राइल मन्सुरीलाई पत्राचार गरेर बैठकको चलाउने जिम्मेवारी तोकेकी हुन् ।
पत्रमा उनले आफ्नो स्वास्थ्यमा अचानक समस्या आएकाले काठमाडौं जानु परेकाले बैठकमा उपस्थित हुन नसक्ने बताएकी छन् ।
कोशीमा सभामुख र उपसभाुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चार सदस्यीय अध्यक्ष मण्डल बनाइएको थियो । तीमध्ये ज्येष्ठ सांसद लिलाकुमारी लिम्बु र अम्मरबहादुर विष्टले अनुपस्थित हुने सूचना दिइसकेकाले वर्णानुक्रम अनुसार मन्सुरीलाई अध्यक्षता गर्ने जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ ।
एमालेबाट निर्वाचित उपसभामुख दनुवार आज बिहान एती एयरलाइन्सको पहिलाे उडानबाट काठमाडौं आएकी हुन् ।

एमाले सांसदहरू रोहितबहादुर कार्की (७१), मालतीकुमारी लिम्बू (६७), रामप्रसाद महतो (६७), तारादेवी ढकाल (६६), खड्गबहादुर बस्नेत (६७), किशोरचन्द्र दुलाल (६५) र ज्ञानेन्द्र सुवेदी (६४) ले बैठकमा अनुपस्थित हुने सूचना प्रदेशसभा सचिवालयमा दिएका थिए ।
कोशीमा मुख्यमन्त्रीले विश्वास प्राप्त गर्न ४७ सांसदको समर्थन आवश्यक रहन्छ । सत्ता गठबन्धनसँग अहिले ४७ सांसद नै छन् ।
मन्सुरीलाई प्रदेशसभाको अध्यक्ष दिएर उपसभामुख काठमाडौं प्रस्थान गरेपछि कोशीमा सत्ता गठबन्धनको आकस्मिक बैठक बसेको छ ।




















प्रतिक्रिया