Logo

प्रमुख समाचार

एमसीसी आजदेखि कार्यान्वयनमा जाने



काठमाडौं । अमेरिकी सहायता मिलियन च्यालेन्ज (एमसीसी) परियोजना आज (बुधबार) देखि कार्यान्वयनमा जाने भएको छ । आज दिउँसो ३ बजे नेपाल सरकार र एमसीसीबीच कार्यान्वयनमा जाने सम्झौता पत्र आदानप्रदान गरेपछि परियोजना कार्यान्वयनमा जाने भएको हो ।

बुधबार सिंहदबारस्थित अर्थ मन्त्रालयमा नेपाल सरकार र एमसीसीबीच लेटर अफ एक्सचेन्ज गरी आयोजना तथा कार्यक्रम कार्यान्वयनको औपचारिक सुरुआतको घोषणा गरिनेछ ।

अर्थमन्त्री प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुन अलफोर्डबीच लेटर अफ एक्सचेन्ज हुने मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए–नेपाल)ले जनाएको छ । त्यसका लागि एमसीसीका उपाध्यक्ष क्यामरुन मंगलबार नै काठमाडौं आइपुगेका छन् ।

लामो विवाद र बहसपछि २०७८ फागुन १५ गते नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता प्रतिनिधिसभाबाट बहुमतले अनुमोदन भएको थियो । त्यसपछि उक्त परियोजना औपचारिकरुपमा कार्यान्वयनमा लैजाने बाटो खुलेको हो ।

सम्झौताअनुसार आयोजना निर्माणको कार्य औपचारिक रूपमा कार्यान्वयनमा आएको दिनदेखि पाँच वर्षभित्र सबै काम सम्पन्न गर्नुपर्ने हुन्छ । अर्थात २०८५ भदौ १२भित्र सबै कार्यक्रम सम्पन्न गर्नुपर्ने हुन्छ । तर, सत्ता साझेदार दलभित्र एमसीसीका विषयमा अझै विवाद र विमति कायमै रहँदा सम्झौता अवधिभित्र सबै परियोजना निर्माण सम्पन्न हुनेमा आशंका गरिएको छ ।

कार्यक्रममा अमेरिकी सरकारको एमसीसी कम्प्याक्ट कोषको ५० करोड अमेरिकी डलर अर्थात ६६ अर्ब रुपैयाँ अनुदान र नेपाल सरकारको १९.७ करोड अमेरिकी डलर अर्थात २६ अर्ब लगानी रहेको छ । त्यसबाट राष्ट्रिय गौरवका विद्युत् प्रसारण लाइन र सडक मर्मत गरी दुईवटा आयोजना रहेका छन् ।

नेपाल तथा एमसीसीबीच २०७४ भदौ २९ गते नेपाल कम्प्याक्ट सम्झौतामा हस्ताक्षर भएको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार ११:२७   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।