Logo

राजनीति

प्रचण्ड–नेपाल समूहद्वारा फेरी केपी ओली फाल्ने तयारी



पटक–पटक उत्कर्षमा पुगेर भागवण्डाको प्रलोभनमा थच्चिने गरेका सत्तारुढ दल नेकपाभित्रको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली विरोधी समूहले पुनः सक्रिय भएको छ । स्रोतहरुका अनुसार अध्यक्ष प्रचण्ड नेतृत्वमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले ओलीविरुद्ध बहुमत जुटाउने प्रयास थालेका छन् । त्यसका लागि पार्टीको स्थायी समिति, केन्द्रीय समिति र संसदीय दलमा नेताहरुले हस्ताक्षर संकलन नै सुरु गरेको एक नेताले बताए ।

पछिल्लो पटक पार्टीको कर्णाली प्रदेशमा ओलीले प्रचण्ड र नेपालको फाटो ल्याउन खोजेका थिए । ओलीको त्यो प्रयास उनीहरुले एकढिक्का भएर चिरेपछि प्रचण्ड र ओलीका छुट्टाछुट्टै परिपत्र कर्णालीमा पुगेका थिए । ओलीले एकलौटी रुपमा मन्त्रिपरिषद्लाई पूर्णता र केही मन्त्रीको मन्त्रालय फेरवदल गरेपछि चरमोत्कर्षमा पुगेको विवाद हस्ताक्षर संकलनसम्म आइपुगेको स्रोतहरु बताउँछन् ।

ओलीले बीचमा उपाध्यक्ष गौतमलाई आफ्नो पोल्टामा ल्याउन खोजेका थिए । एक पटक वामदेवको घरमै पुगेर र दशै अगाडी बालुवाटारमा बोलाएर गौतमलाई भेटेपनि । भेटमा गौतमलाई मन्त्री बनाउन गाह्रो भएकाले प्रतिनिधिसभामा समानुपातिक तर्फबाट सांसद रहेकी गौतम पत्नी तुल्सा थापालाई मन्त्री बनाउने बचन ओलीले दिएका थिए । तर, मन्त्रिपरिषद्लाई पूर्णता दिदा पत्नी नपरेपछि आफूलाई ललाइफकाइ गर्न लागिएको बुझेर गौतम पनि ओली विरोधी खेमामा कम्मर कसेर लागेका छन् ।

वामदेव र अध्यक्ष प्रचण्ड विच्किएपछि ओलीले नेता नेपाललाई फकाउन कोशिष गरे । मंगलबार नेपालसँग बालुवाटारमा भेटे पनि । तर, समस्या समाधान नहुने भएपछि प्रचण्डलाई मनाउन आफ्ना दूतहरु दैनिकजसो खुमलटार पठाइरहेका छन् ।

पहिला सहमति गर्ने पछि धोका दिने ओलीको बानी बुझेका नेताहरु अहिले भने उनीविरुद्धको लडाइलाई निष्कर्षमा नै पु¥याउन भनेर कम्मर कसेर लागेका छन् । यो अभियानमा सक्रिय एक नेताले एक सातामा आफूहरुले स्थायी समिति, केन्द्रीय समिति र संसदीय दलमा बहुमत पु¥याएर देखाइदिने बताए ।

यता ओलीले पनि कसरी सत्ता बचाउने भन्ने रणनीति बनाउन व्यस्त छन् । आफू पक्षका मुख्यमन्त्रीहरुलाई काठमाडौं बोलाएका छन् । तर, धेरै पटक रनभुल्लमा पारेकाले नेताहरुले उनको मौखिक प्रतिबद्धतालाई मान्ने पक्षमा नदेखिदा ओली समस्यामा परेका छन् । मुख्य सचिव, ३ राजदूत नियुक्ति, ३ मन्त्रीको नियुक्ति र कर्णाली प्रदेशमा ल्याएको फाटोले नेताहरु विच्किएका छन् ।

विष्णु पौडेल संयोजकत्वमा गठित कार्यदलले दिएको प्रतिवेदन र स्थायी समिति बैठकले सहमतिका आधारमा अघि बढ्न सुझाएकोमा ओली स्वेच्छाचारी ढंगले अघि बढेको प्रचण्ड–माधव समूहले आरोप लगाएको छ ।
प्रधानमन्त्री ओली विगतका सहमति र निर्णय पन्छाएर अघि बढेकाले अविश्वासको प्रस्ताव ल्याएर हटाउनु पर्ने निष्कर्षमा विरोधी समूह लागेको हो । स्थायी समिति र केन्द्रीय कमिटीको बैठकमा बहुमतबाट निर्णय गराएर प्रधानमन्त्रीविरुद्ध अघि बढ्ने तयारी उनीहरुको छ ।

नेकपाले यसअघि कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय समिति बैठक बोलाएको थियो । तर कोरोना महामारीलाई देखाउँदै त्यसलाई १ महिना पर सारिएको छ । स्थायी समिति बैठक भने डेढ महिनाअघि मात्र बसेको थियो । ‘प्रचण्ड–माधव समूह ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्रिय बनेको सूचना कतिपयले प्रवाह गरे पनि उहाँहरू त्यसो नगरी स्थायी र केन्द्रीय कमिटीमा बहुमतबाट निर्णय गरेर ओलीविरुद्ध अघि बढ्ने तयारीमा हुनुहुन्छ,’ नेकपाका एक नेताले भने ।

एक्लाएक्लै नभेट्ने

नेकपामा विवाद बढेपछि ओलीले प्रचण्डलाई छलफलका लागि बोलाएका छन् । तर भेटका लागि उनी तयार भएका छैनन् । केही दिनयता ओलीले प्रचण्डलाई छलफलका लागि तारन्तार बोलाए पनि नगएको बताइन्छ । स्रोतका अनुसार, प्रचण्ड एक्काएक्लै भेट नगर्ने पक्षमा छन् । यसअघिका भेटमा भएका सहमतिहरू प्रधानमन्त्रीबाट पालना नभएकाले प्रचण्ड एक्लाएक्लै संवाद गर्न हच्किएको बताइन्छ ।

प्रकाशित मिति : कार्तिक १५, २०७७ शनिबार  २ : १३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।