Logo

काठमाडौं उपत्यका ‘हटस्पट’सहरमा व्यापक संक्रमण



संघीय राजधानी काठमाडौंसहित सहरी क्षेत्रमा कोरोना भाइरस व्यापक रूपमा फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले हालै गरेको सेरो प्रिभिलेन्स सर्भेले सहरी क्षेत्रमा समुदायमै संक्रमण फैलिएको देखाएको छ। त्यसमा पनि काठमाडौं उपत्यका ‘हटस्पट’ बनेको छ। उपत्यकामै कुल संक्रमितको संख्या ७६ हजार ३ सय ४८ पुगेको छ।

महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले सहरी क्षेत्रमा सबै उमेर समूहमा संक्रमण देखिएको बताए। ‘सबै उमेर समूहमा संक्रमण देखिनु समुदायमा संक्रमण भएको सूचक हो’, निर्देशक डा. पाण्डेले भने, ‘बालबालिका, महिला र वृद्धवृद्धामा समेत संक्रमण देखियो।’

मुलुकभर शनिबार २ हजार ५ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये महिला ९ सय ७६ र पुरुष १ हजार ५ सय ३२ जना छन्। यससँगै नेपालमा संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ। पछिल्लो २४ घण्टामा २ हजार २ सय ६४ जना निको भएका छन्। त्यसैगरी, थप १७ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ३७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको थियो।

मुलुकभर सक्रिय संक्रमितको संख्या ३८ हजार ५ सय ८४ छ। काठमाडौं उपत्यकामा २० हजार ३ सय ४४ जना सक्रिय संक्रमित छन्। काठमाडौं जिल्लामा मात्र सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय ९० पुगेको छ।  याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आईतवार ०८:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।