काठमाडौं- पछिल्लो समय सुनको मूल्यले दिनहुँ जसो नयाँ रेकर्ड राखिरहेको छ। मंसिर महिना अर्थात् लगनको सिजन सुरु भए यता नेपालमा लगातार सुनको मूल्य बढिरहेको हो।
नेपालमा सुनको अत्यधिक खपत हुने महिना मंसिर हो। यहिँ समयमा दिनहुँजसो सुनको मूल्यले कृतिमानी राख्न थालेपछि धेरैलाई झस्काएको छ। सुन महँगीएर किन्नै नसक्ने बनेपछि वैवाहिक बन्धनमा बाँधिन लागेकाहरूलाई चिन्ताले सताएको छ।
विवाहको समयमा गरगहना र सजावटको लागि सुनचाँदीको अत्यधिक माग हुने गरेको छ। बिहेमा गरगहना अनिवार्यजस्तै बन्दा धेरैको विवाह महँगो हुने भएको छ।
एकातिर आर्थिक मन्दी अर्कोतिर महँगी। त्यसमाथि समाजमा देखाउनकै लागि भए पनि धुमधाम गर्ने प्रवृत्ति। त्यसैले सुनसँगै अधिकांशको विवाह पनि महँगो बन्ने भएको छ।
डलरको भाउमा भएको वृद्धि र अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य बढिरहेकाले त्यसको असर नेपाली बजारमा देखिएको जानकारहरू बताउँछन्।
मंसिर १७ गते आइतबार सुनको मूल्य प्रतितोला एक लाख २० हजार आठ सय रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै उच्च हो। सुनको मूल्य अत्यधिक बढ्दा सिजनको बेला पनि व्यवसाय घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिक रत्न शाक्य बताउँछन्।
मङ्सिर महिना यता मात्र सुनको भाउ तोलामा पाँच हजार तीन सय रुपैयाँले महंगिएको छ। महासंघका अनुसार मङ्सिर १ गते सुनको मूल्य एक लाख १५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य बढ्दा ग्राहक मात्र नभएर व्यवसायीलाई पनि चिन्ता थपिएको छ। आर्थिक मन्दीको बेला सुनको मूल्य अत्यधिक बढ्दा सिजनकै बेला समेत सुनको माग घटेको छ।
आज भने सुनको मूल्य घटेको छ। आज छापावाल सुन १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
त्यस्तै आज तेजाबी सुन पनि १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
किन लगातार बढ्दैछ सुनको मूल्य?
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि त्यसको प्रभाव परेको महासंघका अध्यक्ष शाक्यले बताए। उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य वृद्धि भएको छ। विशेष कारण भन्नुपर्दा अहिले अमेरिका र चीनको व्यापार युद्ध, अन्तर्राष्ट्रिय भूराजनीतिक अवस्था लगायत कारण सुनमा अत्यधिक दबाव परेको छ।’ रुस र युक्रेनबीचको युद्ध, इजराइल र प्यालेसटाइनबीचको युद्धका कारण पनि सुनको मूल्य बढेको उनी बताउँछन्।
उनी भन्छन्, ‘अहिले संसारभर हरेक देशका बैंकहरुले सुन खरिद गरिरहेका छन्। सुनको डिमाण्ड बढ्दो छ। डलरको मूल्य आकासिएको छ। यसको प्रभाव नेपाली बजारमा पनि देखिएको छ।’ नेपालमा सुनको मूल्य निर्धारण गर्न सबैभन्दा ठूलो भूमिका अन्तर्राष्ट्रिय बजारमा भइरहेको कारोबारमा भर पर्छ। अन्तर्राष्ट्रिय बजारमा छिनछिनमा सुनको मूल्य परिवर्तन भइरहन्छ।
व्यवसाय जोगाउने चिन्ता
सुनको मूल्य बढ्दा ग्राहक मात्र नभएर व्यवसायीलाई पनि चिन्ता थपिएको छ। आर्थिक मन्दीको बेला सुनको मूल्य अत्यधिक बढ्दा सिजनकै बेला समेत सुनको माग घटेको छ। पहिलापहिले दिनको ३५ देखि ४० किलोसम्म सुन खपत हुने गरेकोमा अहिले ५० प्रतिशत कारोबार घटिसकेको महासंघले जनाएको छ।
अब नेपालमा सुन व्यवसायी गरिरहेकाहरु कसरी टिक्ने भन्ने चिन्ता बढेको अध्यक्ष शाक्य बताउँछन्। ‘यसैगरी मूल्य बढ्ने हो भने त भोलिका दिनमा सुन कसले किन्ने भन्ने अवस्थाको सिर्जना हुन्छ। किन्ने भन्दा बेच्ने ग्राहक बाक्लिन थाल्छन्। यस्तो आर्थिक मन्दी छ।’ उनी भन्छन्- -सिजनको बेला अलिअलि भए पनि अपसिजनमा सबै बिक्रीमा आउँछ। अनि कसरी व्यवसाय टिकाउने ?’
सुनको मूल्य बढ्दा समग्र व्यवसाय नै संकटमा परेको शाक्यले बताए।
कसरी हुन्छ सुनको मूल्य निर्धारण?
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनको मूल्य निर्धारण हुन्छ। महासंघका अनुसार न्युयोर्क एक्सचेञ्जको कारोबार दरलाई आधार मानेर मूल्य तय गरिन्छ। नेपाली समयअनुसार बिहान १० बजेको अन्तर्राष्ट्रिय बजारको मूल्यलाई नेपालमा मूल्य निर्धारणको आधार मानिन्छ। उक्त दिनका लागि राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अर्थात् डलरको मूल्यले गुणन हुन्छ।
अन्तर्राष्ट्रिय बजार मूल्यलाई नेपाली रुपैयाँमा रुपान्तरण गरेपछि सुन आयातमा लाग्ने भन्सार दर तथा बैंक र सुन व्यवसायीको नाफा जोडेर मूल्य तोकिन्छ । हरेक दिन विहान ११ बजेसम्म नेपाली बजारमा सुनको मूल्य निर्धारण भइसक्छ।
अन्तर्राष्ट्रिय बजारमा सुन महँगो डलरको भाउ वृद्धि हुँदा नेपाली बजारमा सुनको मूल्य बढ्छ। सरकारले भन्सार राजस्वको दर बढाइदिएको अवस्थामा पनि सुन महँगिने गरेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २०७१.८८० डलरमा कारोबार भइरहेको छ।




















प्रतिक्रिया