काठमाडौं- नियात्राकार गीता रेग्मीलाई ७५ हजार राशीको ‘अनेवा नक्षत्र पुरस्कार–२०२२’ प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, बेलायतले सो पुरस्कार स्रष्टा गीता रेग्मीलाई हस्तान्तरण गरेको हो। आज काठमाडौँको बागबजारमा आयोजित एक समारोहकाबीच नियात्राकार रेग्मीको २०७८ सालमा प्रकाशित नियात्रा कृति ‘प्रशान्तको तीरैतीर’ का लागि प्रतिष्ठानले सो पुरस्कार अर्पण गरेको हो।
अनेवा प्रतिष्ठानकी उपाध्यक्ष प्रा.डा. सुष्मा आचार्यको सभाध्यक्षमा भएको सो कार्यक्रममा बेलायतबाट आएका प्रतिष्ठानका कोषाध्यक्ष गोपी सापकोटा, समीक्षक हेम भण्डारी लगायतको पुरस्कार अर्पण समारोहमा आतिथ्यता रहेको थियो।
पुरस्कार अर्पण गरेपछि बोल्दै सभाध्यक्ष तथा प्रतिष्ठानकी उपाध्यक्ष प्रा.डा. सुष्मा आचार्यले नियात्रा विधामा निरन्तर क्रियाशील रहेकोले गीता रेग्मीलाई यो पुरस्कार अर्पण गरिएको बताइन्। कुनै पनि विधामा निरन्तर क्रियाशील रहने स्रष्टालाई यो पुरस्कार दिइँदै आएको उनले सुनाइन्। नियात्रा विधामा पनि पछिल्लो समय धेरै कृति आइरहेको उल्लेख गर्दै नाटक विधाका लेखक नै कम भएको त्यसमा पनि नारी लेखक अत्यन्तै कम भएको उनले बताइन्। नाटक लेखनमा ध्यान दिन पनि उनले नारी स्रष्टालाई आग्रह गरिन्।
प्रतिष्ठानले सन् २०१३ मा सर्वप्रथम तत्कालीन सांसद शान्ता चौधरीलाई यो पुस्कार अर्पण गरेको थियो। यो पुरस्कार पाउने गीता छैठौँ स्रष्टा हुन्। यसअघि ‘कमलरीदेखि सभासदसम्म’ कृतिका लागि शान्ता चौधरीलाई, सन् २०१५ मा ‘युवा पत्रकार’ का रुपमा नारायण अमृत र लेनिन बञ्जाडेलाई, सन् २०१६ मा ‘करौडौ कस्तुरी’ का लागि अमर न्यौपानेलाई, सन् २०१९ मा ‘गोर्खा’ कृतिका लागि कैलाश लिम्बुलाई यो पुरस्कार प्रदान गरिएको छ।
प्रतिष्ठानका कोषाध्यक्ष गोपी सापकोटाले एउटै विधामा लामो समयसम्म समर्पित भएर लेखिरहनु ठूलो कुरा भएकोले गीता रेग्मीलाई प्रतिष्ठानले सम्मान गरेको बताए। रेग्मीलाई सम्मान गर्न पाएकोमा संस्था पनि गौरवान्वित भएको उनले बताए।
सम्मानीत स्रष्टा र कृतिको बारेमा बोल्दै समीक्षक हेम भण्डारीले नियात्रा मात्रै नभएर कविता, कथा र उपन्यास लेखनमा पनि गीता रेग्मी सक्रिय रहेको सुनाए। उनका परिचय कथासंग्रह २०६५, पुस्तान्तर (संयुक्त कथासंग्रह) २०६६, ज्यातिका युगीन स्वरहरु (संयुक्त कवितासंग्रह) २०६७, पश्चिमाहरुको देशमा नियात्रासंग्रह २०६९, पत्थरैपत्थर नियात्रासंग्रह २०७४ र प्रशान्तको तीरैतीर नियात्रासंग्रह २०७८ प्रकाशित भइसकेको उनले बताए।
कृतिमा रहेका नियात्रा काठमाडौँबाट सुरु भएर काठमाडौँमै आएर टुङ्गिने भए पनि अष्ट्रेलियाका नियात्रा धेरै रहेको उनले बताए। कृतिमा विदेशलाई नेपालीले हेर्ने नजर, विदेशको मोह, विदेशिने संस्कृति, डायस्पोराको चेतना आदि विषयलाई गहन गरी उठान गरेको उनको भनाई छ।
पुरस्कार ग्रहण गरेपछि बोल्दै गीता रेग्मीले पुरस्कारका लागि योग्य ठहर गरेकोमा प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गरिन्। पुरस्कार ग्रहण गरेपछि चुनौति थपिएको भन्दै उनले यो जिम्मेवारी वहन गर्न सक्ने नसक्ने दोधारमा रहेको उनले बताइन्।
लण्डन निवासी विकल चन्द्र आचार्य प्रतिष्ठानका अध्यक्ष र जयालक्ष्मी राई महासचिव रहेका छन्। यो प्रतिष्ठान सन् २०१२ मा स्थापना भएको हो। यसले विभिन्न विधामा पुरस्कार र सम्मान प्रदान गर्दै आइरहेको छ।


















प्रतिक्रिया