काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकमा पर्याप्त तरलता भए पनि अपेक्षाअनुसार कर्जाको माग नभएको बताएका छन् । संघको नियमित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले पछिल्लो समय बैंकमा ५ खर्ब रुपैयाँ थुप्रेर बसे पनि अपेक्षित रुपमा कर्जा माग नभएको बताएका हुन् ।
‘बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ । ३३५ अर्ब डिपोजिट छ । ५०० अर्ब लगानीयोग्य रकम बैंकिङ्ग प्रणालीमा थुप्रिएको छ । तर, कर्जाको माग भने छैन’, कर्जा निक्षेपको अनुपात पनि ८१ प्रतिशत हाराहारी रहेको उनले बताए ।
अहिले सबै कर्जाको ब्याजदर एकल अंकमा झर्ने अवस्थामा रहेको बताएका छन् । बैंकको औसत आधारदर नै ८.७७ प्रतिशतमा झरिसकेको समेत उनले बताए ।
हाल बैंकको औसत सीडी रेसियो ८१ प्रतिशत रहेको बताउँदै यसले कर्जा दिन बैंकहरु सक्षम छन् भन्ने संकेत गर्ने उनको भनाइ छ । उनका अनुसार पछिल्लो तथ्यांक अनुसार १९ अर्ब बढीको गैर बैंकिङ सम्पत्ति बैंकमा थुप्रेर बसेको छ ।
बैकिङ क्षेत्र सक्षम रूपमा अगाडि बढेको पनि उनले बताए । ‘ओभारल हेर्ने हो भने आजको दिनमा बैकिङ सेक्टर स्टेबल छ । सक्षम रूपमा अगाडि बढिरहेको छ । एनपिएको कुरा चाहिँ बेलाबेलामा आइरहेको छ । एनपिए केही बढ्दै गइरहेको स्थिति चाहिँ पक्कै पनि हो कोभिड-१९ पछाडिको असर, अन्तर्राष्ट्रिय कारण, कर्पोरेट सेक्टरमा परेका असरका कारण पनि यो बढेको देखिन्छ’ उनले भने । हदबन्दीका कारण बैंकमा गैर बैंकिङ सम्पत्ति बढेको उनको भनाइ छ ।
सरकारले वाणिज्य बैंकहरुले स्थानीय तहको पैसालाई निक्षेपको रुपमा गणना गर्न नपाउने व्यवस्था व्यवस्था गरेसँगै बैंकहरूकाे निक्षेप पनि घटेको बताए ।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले नेपालको बैंकिङ क्षेत्र सुरक्षित रहेको बताए ।
प्रतिक्रिया