Logo

प्रमुख समाचार

सल्यानमा १७ दिनकी सुत्केरी महिला र उनका श्रीमान मृत फेला, हत्यापछि आत्महत्या गरिएकाे प्रारम्भीक निष्कर्ष



सल्यान । सल्यानमा सुत्केरी श्रीमती र श्रीमान मृत फेला परेका छन्।

मंगलबार बिहान शिद्धकुमाख गाउँपालिका वडा नम्बर ४ रतनताल टोलका ३१ वर्षीय केशव राना र उनकी श्रीमती २७ वर्षीय श्रीमती केवली राना मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी नवीन कार्कीका अनुसार केवली १७ दिनकी सुत्केरी थिइन्। प्रारम्भीक अनुसन्धानबाट श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेको देखिएको र घटनास्थलमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएकाे छ।

श्रीमतीको सुत्ने कोठामा धारिलो हतियार प्रयोग गरी हत्या भएको र श्रीमान् घर नजिकै झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए।

राना दम्पत्तीका दुई छोरा र दुई छोरी पनि छन्। हत्या भएको थाहा पाएपछि ५ वर्षीय जेठा छोरा मंगलबार बिहान करिब ४ बजेतिर आफ्ना ठूला बुवाको घरमा पुगेर जानकारी दिएका थिए। त्यसपछि प्रहरीलाई खबर भएको थियो।

स्थानीयले प्रहरीलाई दिएको जानकारी अनुसार मृतक केशव मानसिक रूपमा अस्वस्थ थिए । उनले मादक पदार्थ पनि अत्याधिक खाने गरेकाे स्थानीयहरूले आफूहरूलाई बताएकाे प्रहरी निरीक्षक धमलाले बताए।

वैशाख ३० गते सल्यानकै बनगाड कुपिण्डे नगरपालिका–४ देउरालीमा २३ वर्षीय कमला बुढा र उनका ३४ वर्षीय श्रीमान् मनोज बुढा पनि मृत फेला परेका थिए। यस घटनामा पनि कमलाको हत्यापछि मनोजले आत्महत्या गरेको प्रहरीको निष्कर्ष छ।

प्रकाशित मिति : बैशाख ३१, २०८१ मंगलबार  १२ : ४३ बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।