Logo

समाचार

समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमा लैजान मन्त्री चौधरीको निर्देशन



काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा समाज कल्याण परिषद्का अध्यक्ष भगबती चौधरीले समाज कल्याण परिषद्लाई डिजिटाइजेशनको प्रक्रियामा अगाडि बढाउन कर्मचारीलाई निर्देशन दिएकी छन् ।

समाज कल्याण परिषद्का नवनियुक्त उपाध्यक्ष नन्दलाल माझीको पदभार ग्रहण कार्यक्रमपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । लामो समय ग्रासरूटका काम गरेर आएको व्यक्तिको सिफारिस अनुसार मन्त्रिपरिषद्ले उपाध्यक्ष नियुक्त गरेको बताउँदै मन्त्री चौधरीले आफ्नो कार्यकालमा केही नयाँ काम गरेर देखाउन परिषद्का पदाधिकारी तथा कर्मचारीलाई आग्रह गरिन् ।

परिषद्लाई डिजिटाइजेशन गर्नका निम्ति परिषद्को बोर्ड र कासले निर्णय गरेको भन्दै त्यसलाई अगाडि बढाउन समेत निर्देशन दिँदै मन्त्री चौधरीले आफूले गर्न खोजेको कार्यमा साथ दिन निर्देशन दिइन् । ‘परिषद्लाई अझ राम्रो बनाउनका निम्ति मैले केही काम गर्न खोजेको छु, यहाँहरूले त्यसमा साथ दिनुपर्छ’, मन्त्री चौधरीले भनिन्, ‘हामीले परिषद्लाई डिजिटाइजेशनमा लैजाने भनेका छौँ । त्यसमा जानका निम्ति निर्णय भएका छन् । भेण्डर आह्वान गर्ने निर्णय गरेका छौँ । त्यसलाई अगाडि बढाउन लाग्नुस् ।’

समाज कल्याण परिषद्लाई नयाँ ढङ्गले सञ्चालन गर्न आवश्यक रहेको भन्दै उनले मुलुक संघीय संरचनामा गइसकेपछि प्रादेशिक संरचनामा पनि जान जरुरी रहेको बताइन् ।

प्रकाशित मिति : जेष्ठ १, २०८१ मंगलबार  ४ : ४९ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।