काठमाडौं । गितेन्द्रबाबु राई (जीबी)को राहदानी (पासपोर्ट) रद्द नहुने भएको छ । पोखराको सूर्यदर्शन सहकारी तथा विभिन्न चार सहकारीको अर्बौं ठगीको आरोपपछि फरार जीबीको राहदानी रद्दको माग गर्दै कास्की प्रहरीले राहदानी विभागलाई पत्रचार गरेको थियो ।
तर जीबीको राहदानी रद्द गर्न नमिल्ने देखिएको राहदानी विभागका प्रवक्ता तथा निर्देशक रमेशकुमार चर्मकारले बताए । ‘हामीले कानुन शाखाको सहयोगमा अध्ययन गरेका थियौं’ उनले भने, ‘राहदानी ऐन २०७६ र नियमावली २०७७ अनुसार अहिलकै अवस्थामा उहाँका राहदानी रद्द गर्न मिल्दैन ।’
अनुसन्धान अधिकारीले अनुसन्धानका क्रममा रोक्का गर्न सक्ने प्रावधान कानुनले दिए पनि पासपोर्ट नै बरामद नभएको अवस्थामा रद्द गर्न नमिल्ने उनको भनाइ छ ।
जीबी राईमाथि सूर्यदर्शन सहकारी, रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको अर्बाैं रकम हिनामिना गरेको आरोप छ । सूर्यदर्शन र सुप्रिम सहकारीको मुद्दा अदालत नै पुगिसकेको छ ।
सूर्यदर्शन सहकारीको ठगीमा मुद्दा चलेर फरार रहेका १४ जनामध्ये जीबीविरुद्ध रेड नोटिस जारी भएको छ । तर उनी अहिलेसम्म पक्राउ परेका छैनन् ।
प्रतिक्रिया