Logo

राजनीति

प्रचण्डलाइ तनाब दिने माधव नेपाललाई ओलीको यस्तो प्रस्ताव 



सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिवेला आन्तरिक विवादको भूमरीमा फसेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सम्वाद टुटेको छ । यसले आम नेता तथा कार्यकर्ता, र जनतामा पनि अब नेकपा फुट्ने हो कि भन्ने आशंका र चिन्ता पैदा भएको छ । नेकपाका नेता तथा कार्यकर्तामा यस्तो चिन्ता हुनुमा नेताहरुको अभिव्यक्ति र उनीहरुबीचको पानी बाराबारको अवस्था नै प्रमुख कारण हो ।

खासगरी अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग भेटेपछि दाहालले आफूनिकट नेताहरुसँगको आकस्मिक भेटमा गरेको ब्रिफिङले पनि नेकपाका प्रभावशाली नेताहरु नै पार्टी फुटको संघारमा पुगेकोबारे सुन्दा झसंग्ग भए । महासचिव तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलदेखि प्रवक्ता तथा सांसद नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमार्फत पार्टी एकता गम्भीर संकटमा परेको भन्दै एकता जोगाउनको लागि नेता तथा कार्यकर्ताहरुलाई अपिल गरेका थिए ।

मन्त्रिमण्डल पूनर्गठन, राजदूत नियुक्ती, कर्णाली प्रदेशमा पार्टीभित्रको विवाददेखि पर्सामा आफ्नै कार्यकर्ता हत्या काण्डसम्म आईपुग्दा नेकपाभित्रको विवादले उग्र रुप लिएको हो । दाहालले यी सबै प्रकरणमा ओलीको दोष देखेका थिए । र, ओलीसँगको भेटवार्ता र सम्वाद टुटाएर दाहालले खुमलटारमै आफूलाई सिमित राखेपछि ओलीले बारम्बार भेटको लागि आग्रह गर्दापनि बालुवाटार नगएको समाचार बाहिरिएपछि नेकपाभित्रको विवादले कुन रुप लिँदैछ रु भन्ने अड्लबाजी भैरहेको थियो ।

यो बीचमा प्रधानमन्त्री ओलीले आफूनिकट नेताहरुलाई खुमलटार पठाएर दाहाललाई वार्ता तथा सम्वादको लागि पहल पनि गरेका थिए ।

दाहाललाई भेट्नको लागि ओलीले दिनहुँ आफूनिकट नेताहरुलाई दूत बनाएर एकपछि अर्को गरि पठाएका थिए । यसरी ओलीको सन्देश बोकेर खुमलटार जानेमा महासचिव पौडेलदेखि संसदीय दलका उपनेता सुवास नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेलदेखि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसम्म थिए । तर, दाहालले ओली भेट्न असमर्थता जनाएका थिए । र, १३ दिनपछि दाहाल ओलीसँग वार्ता गर्न बालुवाटार पुग्दा अब सहमति हुने भयो भन्ने आशा गरिएको थियो ।

तर, बाहिर अपेक्षा गरेकोभन्दा धेरै फरक, नेकपा विभाजनतर्फ अघि बढेको समाचार आए । कारण ओलीले अब सँगै अघि बढ्न सकिँदैन, आआफ्नो बाटो लागौं भनेर सल्लाहमै पार्टी फुटाउन आफूलाई प्रस्ताव गरेको कुरा दाहालले खुलासा गरेपछि नेकपाभित्रको विवाद अब हल हुनेभन्दापनि पार्टी नै विभाजनको तहमा पुगेको बुझियो ।

दाहालसँगको साईनो, सम्बन्ध र सहकार्य तोडेर ओली एक्लै अघि बढ्ने तहसम्ममा पुगेका छन् । यसको लागि उनले पार्टीभित्रैबाट भरपर्दो सारथी खोजिरहेका छन् । यो बीचमा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई पनि फकाउने प्रयास गरिरहेका छन् ।

ओलीले नेता नेपाललाई आगामी महाधिवेशनमा पार्टीको अध्यक्ष बन्नेगरि आफूलाई तयारीका साथ होम्मिन सुझाएको स्रोतको दाबी छ । नेता नेपाललाई फकाउनको लागि ओलीले तत्कालिन नेकपा एमालेका प्रभवशाली तथा पूराना नेता प्रदिप नेपालको साथ खोजेका थिए । नेता नेपालकै आग्रहमा माधव नेपालले एकपटक ओलीलाई साथ दिने विचार गरेको पनि स्रोतको दाबी छ । ओलीको तर्फबाट नेता नेपालसँग वार्ता तथा छलफल गर्न धेरै नेताहरु कोटेश्वर पुगिसकेका छन् ।

 ओली पक्षले पूर्व एमालेहरु एक भएर अघि बढ्नुपर्ने र त्यसको लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल मिलेरै अघि बढ्नुपर्नेमा जोड दिएको छ । तर, नेपाल पक्ष भने अझैपनि ओलीको प्रस्तावमा सकारात्मक भैसकेको छैन् । नेता नेपाल यतिवेला पर्ख र हेरको अवस्थामा छन् । पूर्व एमाले एक हुँदापनि पूर्व माओवादीका प्रभावशाली धेरै नेताहरुको साथ आफूलाई नै हुने र आफूहरुसँग आउने ओलीको बुझाई छ ।

प्रकाशित मिति : कार्तिक २०, २०७७ बिहीबार  ६ : ५० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।