Logo

अर्थ

सांसद कंशाकारले एसिड पीडितवापतकाे क्षतिपूर्ति पाउनुपर्ने भन्दै संसदीय समितिमा दिइन् निवेदन



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दबासिनी कंशाकारले तेजाब आक्रमण भएवापत आफूले पाउनुपर्ने रकम नपाएको भन्दै प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा क्षतिपूर्तिको निवेदन दिएकी छन् ।

महिला तथा सामाजिक मामिला समितिको सोमबारको बैठकमा सांसद कंशाकारले अदालतबाट भएको फैसलाअनुसारको क्षतिपूर्ति नपाएको बताएकी हुन् । हेटौंडाकी कंशाकारमाथि २०७० सालमा एसिड आक्रमण भएको थियो । हेटौंडामा रहेको आफ्नै परिवारको भाँडा पसलमा बसिरहेका बेला भारतीय नागरिकले एसिड छ्यापेका थिए ।

आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेपछि उनले कंशाकारमाथि एसिड छ्यापेका थिए । अभियुक्त ६ वर्षपछि २०७७ सालमा पक्राउ परे र अहिले जेल सजाय काटिरहेका छन् । समितिको बैठकमा बोल्दै कंशाकारले आफूले कुनै विदेशी संघसंस्थाहरूबाट कुनै रकम नलिएको र आफूलाई स्थानीय सरकारले समेत कुनै रकम नदिएको बताइन् ।

सर्वोच्च अदालतबाट फैसला भएकाे मुद्दामा विन्दबासिनी कंशाकरको क्षतिपूर्ति ठूलाे रकम रहेकाे बताइएकाे छ । क्षतिपूर्ति एक करोड १४ लाख ८५ हजार रहेको भनिए पनि उक्त रकम खर्चमै लागेको कंशाकारको भनाइ थियो । चालु आर्थिक वर्षमा करिब ७५ जनाभन्दा बढी पीडितहरूले क्षतिपूर्तिवापतको रकम पीडित राहत कोषबाट पाइसकेको बताइएकाे छ । सांसद कंशकारकाे विषयमा कसले क्षतिपूर्ति दिने भन्ने टुंगाे लागेकाे छैन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार १९:३५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।