Logo

भारतीय स्थल सेनाध्यक्ष नरवणे तीनदिने नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किए



भारतीय स्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी शुक्रबार साँझ स्वदेश फर्किएका छन्। 

सेनाध्यक्ष नरवणेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृतरथी प्रभुराम शर्माले बिदाइ गरे |प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न बुधवार उनी नेपाल आएका हुन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा बिहीबार नै आयोजित विशेष समारोहमा सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिन्। 

भारतीय सेनाध्यक्षले दुई वटा घुम्ती अस्पताल सञ्चालन गर्न आवश्यक चार एम्बुलेन्स, चार भेन्टिेलरसहितका स्वास्थ्य सामग्री एवं उपकरण नेपाली सेनालाई बिहीबार हस्तान्तरण गरे। सेना प्रमुख नरवणे बुधबार वसन्तपुर क्षेत्र र पशुपतिनाथको पनि दर्शन गर्न पुगेका थिए। 

नेपाल र भारतीय सेनाबीच एकार्का देशका सेनापतिलाई मानार्थ महारथी  प्रदान गर्ने परम्परा छ। नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुन् ।

सम्बन्ध सुदृढ गर्न भ्रमण फलदायी

समकक्षी थापा र सेनाध्यक्ष नरवणेबीच आपसी सुरक्षा चासोका विषयमा भएको खुला छलफलमा दुवै सेनाबीच उच्चस्तरीय भ्रमण र तालीमलगायत अन्य सहयोगका क्षेत्र थप विस्तार गर्दै जाने विषयमा गहन विचारविमर्श भएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।
 
प्रधानमन्त्री केपी ओलीसँग उनले शुक्रबार नै शिष्टाचार भेट गरे।  यसअघि सेनाध्यक्ष नरवणेले  शिवपुरीस्थित सैनिक कमाण्ड कलेजमा शिक्षार्थीसँग आफ्नो सैनिक जीवनको अनुभव सुनाउँदै अन्तरक्रिया गरे। सँगै शुक्रबार बिहान उनी हवाइजहाजबाट हिमालय क्षेत्रको दृश्यावलोकन गर्न सोलुखुम्बु पुगेका थिए।  नेपाल र भारतीय सेनाबीच रहिआएको परम्परागत सम्बन्ध सुदृढ गर्न यो भ्रमण फलदायी भएको दुवै सेनापतिले विश्वास व्यक्त गरेका छन्।  

प्रकाशित : २१ कार्तिक २०७७, शुक्रबार