Logo

अनलाइनपाना खोज

ग्लोबल आईएमई बैंकविरुद्ध सीआईबीमा जाहेरी



काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले ऋणीसँगको मिलेमतोमा ग्राहकको निक्षेप दुरुपयोग गरेको पाईएपछि यसको निष्पक्ष छानविन गर्न माग गर्दै केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा जाहेरी परेको छ ।

‘डि एन एस इन्भेष्टमेन्ट प्रा. लि’. र साबिकको एन सी सी बैंक (हाल मजर्र भई कुमारी बैंक लि.)बाट सुरु भएको घटनाक्रम ग्लोबल आईएमई बैंकसम्म पुग्दा बैंकको ८ करोड रुपैयाँ अपचलन भएको पाईएपछि सीआईबीमा जाहेरी परेको हो ।

जाहेरीमा भनिएको छ,- ‘डि एन एस इन्भेष्टमेन्ट प्रा. लि. ले साबिक नेपाल क्रेडिट एण्ड कमर्श बैंक (हाल मर्जर पश्चात कुमारी)बाट बदनियत पूर्वक कर्जा लिनका लागि २०६८ साल जेठ ९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेको, २०६८ जेठ १२ मा कम्पनी आएकरमा दर्ता प्रमाणपत्र लिएको, २०६८ साल जेठ २० गते नै उक्त कम्पनीले १२ करोड रुपैयाँ कर्जा माग गरी साविकको नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा निवेदन दिएको, २०६८ साल असार १२ गते ‘डि एन एस इन्भेष्टमेन्ट प्रा. लि.’ को नाममा १,१७,००,००० एक करोड १७ लाख रुपैयाँमा उक्त जग्गा राजिनामा पास भई आएकोमा सोहि दिनमै अर्थात् २०६८ असार १२ गते नै १२ करोड रुपैयाँ ऋण माग गरी धितो सुरक्षणमा सोहि जग्गा बैंकसँगको मिलेमतोमा १६,७४,५०,००० (सोह्र करोड चौहत्तर लाख पचास हजार) रुपैयाँको मुल्यांकन कायम गराई ओभर भ्यालुएसन रिपोर्ट बैंकमा दिएको छ ।

२०६८ साल असार १५ गते उक्त धितोलाई बैंकमा रोक्का राखी साविकको नेपाल क्रेडिट एण्ड कमर्श बैंकबाट रु. ३ करोड डिमाण्ड लोन डि एन एस इन्भेष्टमेन्ट प्रा. लिका नाममा प्रवाह गरिएको, २०६८ असार २६ गते सोहि धितोलाई देखाएर अर्को ४ करोड रुपैयाँ कर्जा थप गरिएको, ऋण लिएपश्चात जुन प्रयोजनका लागि लिइएको हो उक्त प्रयोजनमा खर्च नगरी कम्पनी उक्त कर्जाको दुरुपयोग गरी साँवा र व्याजसमेत भुक्तानी गर्न छोडेको छ ।

एक करोड सत्र लाख मात्रमा राजिनामा पास गरी लिएको जग्गा देखाएर बैंकसँगको मिलेमतोमा ७ करोड रुपैयाँ कर्जा प्रवाह गरी कर्जा रकम दुरुपयोग गरी बैंकिङ्ग कसुर गरेको, उक्त जग्गा २०८१ साल बैसाख १४ मा ११,६४,६४,५०० (एघार करोड चौसठ्ठी लाख चौसष्ठी हजार पाँच सय) रुपैयाँमा ‘डि एन एस इन्भेष्टमेन्ट प्रा. लि’  को नाँउमा नामसारी गरि पुनः मिति २०८१ जेठ १७ गते अर्थात् एक महिनामै उक्त जग्गा आफ्नै समूहको दोलखा भिमसेन इन्भेष्टमेन्ट प्रा.लि.को नाममा नामसारी गरी ग्लोबल आइएमई बैंकबाट ८ करोड रुपैयाँ कर्जा लिई कर्जा रकम दुरुपयोग गरी बैंकिङ्ग कसुर गरेकोले ग्लोबल आईएमई बैंक र दोलखा भिमसेन इन्भेष्टमेन्ट प्रा.लिको मिलेमतो भएको कसुरको छानविन गरी कारबाही गर्न अविलम्ब माग गर्दछु ।

ग्लोबल आईएमई बैंकबाट ८ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको कम्पनीको चुक्ता पूँजी २५ लाख मात्र भएको र पुँजी रु. १५ करोड कायम गरे पनि कुनैपनि बैंकिङ्ग कारोबार समेत नभएकोले सुनियोजित तरिकाले कर्जा लिनकै लागि अप्रत्यासित रुपमा बैंक ठगी गर्ने उद्देश्य देखिएको र दोलखा भिमसेन इन्भेष्टमेन्ट प्रा.लि. को विगतमा कारोबार शुन्य भएतापनि ग्लोबल आइएमई बैंकले ८ करोड रुपैयाँ कर्जा दिएर कर्जा दुरुपयोग गरेकाले निष्पक्ष रुपमा अनुसन्धान गरी यस घटनामा संलग्न दोषी उपर काबाही गरिपाउँ।’ जाहेरीमा उल्लेख छ ।

ग्लोबल आईएमई बैंकको अध्यक्षमा विवादित व्यापारी चन्द्र प्रसाद ढकाल र सिइओ सुरेन्द्र रेग्मी छन् ।

यस विषयमा सिआइबीका एसएसपी होविन्द्र वोगटी भन्छन् जाहेरीमाथि अनुसन्धान भइरहेको छ ।

ग्लोबल आईएमई बैंकको ८ करोड कर्जा काण्ड : अध्यक्ष ढकाल र सीईओ रेग्मीको भूमिका शंकास्पद

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार १४:०४   :  बजे

1.5K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।