काठमाडौं । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ ।
महासंघको सोमबार बसेको बैठकले कक्षा १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।
कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदैछ । नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ । सरकारले भर्ना अभियान घोषणा गरेको छ । तर महासंघले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
‘गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यबाट गरिएको यो अन्तिम र निर्णायक आन्दोलन हो। यो आन्दोलनलाई अझ सशक्त बनाउन २०८१ चैत्र २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गरिएको कुरा विदितै छ। त्यसैले देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द गरी काठमाडौको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आउनुहुन सबै प्रधानाध्यापक, शिक्षक–कर्मचारी साथीहरूलाई आग्रह गर्दछौं,’ महासंघले अपिल गरेकाे छ ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् ।





















प्रतिक्रिया