Logo

राजनीति

सबैले जिम्मेवारी बोध गर्नुपर्छ: नैनसिंह महर



काठमाडौं । नेपाली कांग्रेसका १५औं महाधिवेशनका महामन्त्री उम्मेदवार तथा नेपाली कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरले कक्षा १२ को परीक्षा स्थगित गरिनु शिक्षा प्रणालीप्रति गम्भीर चुनौती भएको बताएका छन् ।

उनले यस विषयमा नेपाली कांग्रेस शिक्षा विभागको गम्भीर ध्यानाकर्षण भएको र राष्ट्रको भविष्यसँग जोडिएको विषयमा राज्य, अभिभावक, शिक्षक, राजनीतिक दल, नीति निर्माता र सम्पूर्ण शैक्षिक सरोकारवाला निकायले तत्काल गम्भीर जिम्मेवारीका साथ व्यवहार गर्नुपर्नेमा जोड दिएका हुन् ।

नेता महरले शिक्षा साझा दायित्व भएकाले यसको इकोसिस्टमलाई बलियो, स्थायित्वयुक्त र विश्वसनीय बनाउन सबै पक्षले भूमिका खेल्नुपर्ने बताए । “शिक्षा कुनै पार्टी, सरकार वा निकाय विशेषको मात्र विषय होइन, यो सम्पूर्ण समाजको भविष्यसँग जोडिएको साझा सम्पत्ति हो,” उनले भने, “सबैपक्ष जिम्मेवार भएर समस्याको यथाशीघ्र समाधान निकाल्न जरुरी छ।”

महरले शिक्षालाई आधारभूत मानव अधिकारको रूपमा व्याख्या गर्दै भने, “राज्यको मुख्य दायित्व आफ्ना नागरिकको भविष्य सुरक्षति बनाउनु हो। परीक्षा स्थगनले हजारौं विद्यार्थीको मानसिक अवस्था, भविष्य योजना र सामाजिक विश्वासमा धक्का पुर्‍याएको छ। राज्यले अभिभावकको भूमिकामा रहेर स्पष्ट कार्ययोजना प्रस्तुत गर्नुपर्छ।”

उनले विगतमा पटक–पटक शिक्षा क्षेत्रमा आएको अनिश्चितता, परीक्षा तालिकामा भएका पटक–पटकको फेरबदल, नतिजा प्रकाशनमा ढिलाइजस्ता समस्याले नेपालको शैक्षिक संस्थाको विश्वसनीयतामा गम्भीर असर परेको टिप्पणी गरे।

कक्षा १२ को परीक्षा स्थगनले खासगरी ग्रामीण भेगका विद्यार्थीहरू, सामुदायिक विद्यालयमा अध्ययनरत युवाहरू र प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेकाहरूमा थप मानसिक दबाब सिर्जना भएको छ। “विद्यार्थीहरू लामो समयदेखि तयारी गर्दै आएका थिए, परीक्षा स्थगनको सूचना अन्तिम समयमा आएको हुँदा उनीहरूको मनोबलमा प्रतिकूल असर परेको छ,” महरले बताए।

महरले शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपभन्दा माथि राखेर दीर्घकालीन सुधार गर्नुपर्नेमा पनि जोड दिए। “हामीले शिक्षालाई राष्ट्रिय एजेन्डाको रूपमा हेर्नुपर्छ, यो हाम्रो मुलुकको उन्नतिको मेरुदण्ड हो,” उनले भने, “तसर्थ, यो विषयमा राजनीतिक दलहरूबीच सहकार्य र साझा प्रतिबद्धता आवश्यक छ।”

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार १०:५२   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।