काठमाडौं । नेपाली प्रतिभाको अन्तर्राष्ट्रियकरण गर्ने नाममा चलेका कार्यक्रमहरूका नाममा हुण्डी कारोबार, श्रम शोषण र अनियमितता हुने गरेको पाईएको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन (INWSF)का संस्थापक डिल्ली अधिकारी माथि अमेरिकाको ओहायो राज्यमा श्रम कानुन उल्लंघन मुद्दामा १५ मिलियन डलरको जरिवाना लागेको पुष्टि भएपछि उक्त अपराध सार्वजनिक भएको हो । यो सँगै नेपालमा सञ्चालन भइरहेका ‘मेरो भ्वाइस युनिभर्स’र ‘मेरो डान्स युनिभर्स’कार्यक्रमहरू समेत अनुसन्धानको दायरामा आएका छन् ।
अमेरिकाबाट नेपालसम्मको यात्रा र अवैध हुण्डी
नेपालको झापा जिल्लामा जन्मिएका डिल्ली अधिकारी भूटानी शरणार्थीका रूपमा अमेरिका पुगे हुन् । ओहायोमा Americare Healthcare Services नामक होमकेयर कम्पनी खोली दर्जनौं नेपाली–एसियाली श्रमिकहरुको शोषण गर्दै ओभरटाइम नदिएको कारण उनीमाथि अमेरिकी श्रम विभागले मुद्दा दायर गरेको थियो । अमेरिकी अदालतले उनलाई दोषी ठहर गर्दै करिब १५ मिलियन डलर (झण्डै २ अर्ब नेपाली रुपैयाँ) तिर्न आदेश दिएपछि उनको अपराधको भण्डाफोर भएको छ ।
त्यसपछि अधिकारीले नेपालमा INWSF नामक संस्थामार्फत ‘रियालिटी शो’हरू सञ्चालन गर्न थाले । जुन ‘शो’ मा सहभागीहरूलाई अमेरिका, दुबई, कोरिया, क्यानाडा, हङकङलगायत दर्जनौं देशबाट बोलाइन्छ । तर उनले यी सबै कार्यक्रम वापत लाग्ने खर्च कहाँबाट आउँछ र यसको आर्थिक श्रोत के हो भन्ने कुनैपनि स्पष्ट विवरण सार्वजनिक गर्न सकेका छैनन् ।
नाम नबताउने सर्तमा इन्ट्रासँग नजिक रहेर काम गरेका एक कलाकार भन्छन्, “डिल्ली अधिकारीको नेपाल आगमन पछि शो सञ्चालनका लागि डलरको कारोबार हुण्डीबाट हुँदै आएको छ । उनीसँग सहकार्य गर्ने केही व्यक्तिहरुमार्फत् उनले नेपालमा नगद झार्ने काम गर्छन् ।’
आईएनडब्लु एस एफ (INWSF) को आन्तरिक संरचना र नेपाल कनेक्शन
नेपालमा आईएनडब्लु एस एफ (INWSF)को नेतृत्वमा बालकृष्ण कार्की छन् । त्यस्तै यसको को- अर्डिनेटरमा रुपा महर्जन छिन् । पूर्व अध्यक्ष सञ्जित भण्डारी कार्यक्रमहरू संचालनमा आर्थिक हिनामिना तथा अनियमितता गरेको भन्दै संस्थावाट निकालिएका छन् । उनीमाथि सम्पति शुद्धीकरणमा मुद्दा छ । संस्थाको सरुवातमा अध्यक्ष रहेका प्रमुख सेलिबेटी पात्रका रुपमा देखिने दिलिप रायमाझी हाल कार्यकारी पदमा छैनन् तर पनि उनी निर्णायक र प्रमोटरको रूपमा अझै सक्रिय छन् ।
नेपालमा कार्यक्रम संचालन गर्न सरकार तथा कुनैपनि सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने भन्ने कुनै स्पष्ट व्यवस्था छैन न त प्रभावकारी नियमन छ । जसका कारण ‘भ्वाइस युनिभर्स’ को नाममा हुने भोटिङ शुल्क, डोनेसन र ब्रान्डिंग गतिविधि व्यवसायिक हो वा गैरनाफामुखी हो भन्ने समेत खुलाइएको छैन तर कार्यक्रम बिजेतालाई १ करोड पुरस्कार दिने घोषणा गरेको छ ।
पूर्व अध्यक्ष भण्डारीमाथि मुद्दा
संस्थाको आन्तरिक वृत्तमा रहेका पूर्व अध्यक्ष सञ्जित भण्डारीमाथि समेत सम्पत्ति शुद्धीकरण मुद्दामा तानिएका छन् । उनको बैंकखातामा अस्वभाविक रकम आउने गरेकोले भेटिएपछि अहिले उनी सम्पति शुद्धीकरणको अनुसन्धानमा रहेक छन् । हाल उनको मुद्दा विचाराधिन छ । तर उनी उक्त मुद्दा मिलाउन दिनहुँ सरकारी अड्डा र राजनीतिक दलका कार्यकार्ताको घरदैलो चाहार्ने गरेका छन् ।
सांस्कृतिक आवरणभित्रको जालो
‘मेरो भ्वाइस युनिभर्स’कार्यक्रममा चर्चित अनुहारहरू दीप श्रेष्ठ, सुरेश अधिकारी, अञ्जु पन्त, लावणी चक्रवर्ती, कर्म ध्याल्छेन बम्जन, शिव परियार, सुजाता वर्मा छन् । त्यस्तै मेरो डान्स युनिभर्स’मा दिलिप रायमाझी, मिथिला शर्मा, सिल्पा मास्के, कबिराज गहतराज, शंकर बिसी र किरण थापा निर्णायकका रूपमा जोडिएक छन् । तर पनि उनीहरूले आर्थिक संरचना, आयोजनाको कानुनी स्वरूपबारे स्पष्ट जानकारी लिएका छन् भन्नेमा आशंका छ ।
यस बिषयलाई नजिकबाट नियालेका एक सेलिब्रेटी भन्छन्,’यहाँ कुरा केवल ट्यालेन्टको छैन, डलरको हो । कार्यक्रमको ग्ल्यामरस आवरणभित्र भुक्तानी, यात्रा खर्च, बसोबास, र अन्य व्यवस्थापनका नाममा हुण्डी रकम प्रयोग भएको छ ।’
नेपालमा सञ्चालित ‘इन्ट्रा’कार्यक्रमहरूले अब साँच्चिकै ‘कल्चरल एक्सचेन्ज’होइन, ‘पैसा ट्रान्जिट’ र ‘हुण्डी संजाल बनाइरहेको उनी बताउँछन् । डिल्ली अधिकारीमाथि अमेरिका–नेपाल बीच चल्ने रकम, कार्यशैली, र सहकार्य गर्ने नेपाली अनुहारहरूसमेत अनुसन्धानको दायरामा ल्याईनुपर्ने उनको भनाई छ ।
यदि यस्ता कार्यक्रमहरूलाई बेलैमा कानूनी दायरामा ल्याई यसको पारदर्शिता मुल्यांकन गरिएन भने मेरो युनिभर्स’ भन्ने सपना एक दिन ‘मेरो हुण्डी युनिभर्स’को रूपमा चिनिने जानकारहरुको गुनासो छ । सार्वजनिक हितको लागि तयार गरिएको यो सामाग्री सम्बन्धित निकायहरूद्वारा तत्काल छानबिन गर्नु अति आवश्यक रहेको उनीहरु बताउँछन् ।
प्रतिक्रिया