काठमाडौं । वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ । हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार दिउँसो उनको निधन भएको पारिवारिक स्रोतले जनाएका छन् ।
७७ वर्षीय रसिक ५ वर्षदेखि क्यान्सरले पीडित थिए । क्यान्सर अस्पतालमै रसिकको बिहान ११ बजेतिर निधन भएको हो ।
संगीतकार संघका अध्यक्ष अष्ट लामाले पनि रसिकको निधन भएको बताए । रसिककी एक मात्र छोरी बेलायतबाट फर्किएपछि दाहसंस्कार गरिने जनाइएको छ । रसिकको शवलाई त्रिभुवन शिक्षण अस्पतालमा राखिने भएको छ ।
लगभग पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायनमा उदाएका रसिक नेपाली गीतसङ्गीत क्षेत्रको बहुआयमिक व्यक्तित्व हुन् ।
उनले नेपाली साहित्यिक क्षेत्रमा कथा, कविता, उपन्यास, संस्मरण र निवन्ध विधाका दर्जनभन्दा बढि संग्रह पनि प्रकाशित गरेका छन् । उनको जन्म भोजपुरको टेम्केमैयुङ गाँउपालिका वडा नं.२ छिनामखुको नौलागाँउमा बाबु नरोत्तम राई र आमा रत्नमाया राईको कोखबाट २००४ साल असोज ४ गते भएको हो ।
नेपाली गीत सङ्गीतको पहिलो पुस्ता नातिकाजी, अमर गुरुङ, बच्चु कैलाश, नारायणगोपाल, गोपाल योञ्जन, तारादेवी र अरुणा लामापछिको दोस्रो पुस्ताको होनहार प्रतिभा हुन् रसिक ।





















प्रतिक्रिया