Logo

अर्थ

राजावादीको प्रदर्शनमा तोडफोड : बीमा कम्पनीमा सवा ४ करोड दाबी पेश, अहिलेसम्म डेढ करोड मात्र भुक्तानी



काठमाडौं । गत चैत १५ गते राजधानी काठमाडौंमा राजावादी समूहद्वारा आयोजित प्रदर्शनका क्रममा भएका तोडफोड र आगजनीबाट भएको क्षतिको बिमा दाबीमध्ये हालसम्म करिब डेढ करोड रुपैयाँ (१ करोड ५८ लाख ४५ हजार) मात्र भुक्तानी भएको छ । बिमा प्राधिकरणका अनुसार घटनाबाट कूल ४ करोड २१ लाख ८० हजार रुपैयाँ बराबरको बिमा दाबी परेको थियो ।

प्रदर्शनका क्रममा सरकारी तथा निजी सवारीसाधन, घर, व्यापारिक भवन तथा अन्य संरचनामा व्यापक क्षति पुगेको थियो। प्रहरीका अनुसार प्रदर्शनबाट कूल ४६ करोड ९० लाख रुपैयाँभन्दा बढीको क्षति भएको विवरणसहित उजुरी परेका थिए। तर, बिमा दाबी भने त्यसको सानो अंश—सिर्फ करिब सवा ४ करोड रुपैयाँ बराबरको मात्र परेको छ। कारण, अधिकांश सम्पत्ति तथा सवारीसाधन बिमा नभएको बताइएको छ ।

प्रदर्शनबाट ५६ घर, संस्था तथा कार्यालयमा तोडफोड भएको थियो । प्रहरीको तथ्यांक अनुसार ३९ करोड ९२ लाख रुपैयाँभन्दा बढीको क्षति भवन, संस्थान तथा कार्यालयमा भएको हो ।

त्यस्तै, ६९ वटा सवारीसाधनमा क्षति पुगेको छ, जसमा ६३ वटा चारपांग्रे र ६ वटा दुईपांग्रे सवारी छन् । यीमध्ये केही सरकारी, केही निजी, र थुप्रैको विवरण अझै पुष्टि भएको छैन ।

बिमा प्राधिकरणका अनुसार हालसम्म ५० वटा दाबी परेको छ ।

सम्पत्ति बिमा: २१ दाबीमा २ करोड ५३ लाख रुपैयाँको माग, हालसम्म ५९ लाख २७ हजार भुक्तानी

निजी मोटर बिमा: २४ गाडीका लागि १ करोड ३५ लाख दाबी, ७२ लाख ५६ हजार भुक्तानी

सार्वजनिक गाडी: २ दाबी

इन्जिनियरिङ तथा ठेकेदार जोखिम: १ दाबी, ५ लाखको माग (भुक्तानी नभएको)

विविध दाबी: २ दाबी, १० लाखको भुक्तानी

हालसम्म परेको दाबीमध्ये २ करोड ५५ लाख रुपैयाँ बराबरको भुक्तानी दिन बाँकी छ । बिमा प्राधिकरण र बिमा संघका अनुसार अधिकांश केसमा बिमितले आवश्यक कागजात प्रस्तुत गर्न नसक्दा भुक्तानीमा ढिलाइ भएको हो ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार १३:३६   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।