Logo

अर्थ

१० वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षण गर्न छानियो बंगलादेशी कम्पनी



काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १० ठूला वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षण गर्न बंगलादेशी ‘हउलदार युनुस एन्ड कम्पनी’ छानिएको छ । नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले दोस्रो चरणमा उक्त कम्पनीलाई छानेको आशयपत्र जारी गरेको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३८ को उपदफा २ बमोजिम बंगलादेशी ‘हउलदार युनुस एन्ड कम्पनी’ छानिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अब एक साताभित्र उक्त कम्पनीउपर उजुरी नआए सोही कम्पनीले १० वटा कम्पनीको लेखापरीक्षण गर्ने राष्ट्र बैंकको भनाइ छ ।

कम्पनीले ६२ लाख ५४ हजार रूपैयाँ र २ लाख ७१ हजार डलर (करिब ३ करोड ७१ लाख रूपैयाँ) भुक्तानी पाउने भएको छ ।

२०८१ पुसमा आवेदन दिएका ६ कम्पनीमध्ये प्राविधिक प्रस्तावबाट बंगलादेशको हउलादार युनुस एन्ड कम्पनी मात्रै छनौट भएको थियो । तर प्रतिस्पर्धी मेहरा जेकेएसएस एसएसबीडीआईको तर्फबाट एस सुवेदी एन्ड एसोसिएट्सका सञ्चालक सतिश सुवेदीले राष्ट्र बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालयलाई विपक्षी बनाई सर्वोच्चमा मुद्दा हालेका थिए ।

रिट दायरसँगै आर्थिक प्रस्तावको काम राष्ट्र बैंकले रोकिरहेको थियो । गत असार ९ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता नदएिपछि राष्ट्र बैंकलाई प्रक्रिया अगाडि बढाउने बाटो खुलेको हो ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार ११:५१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।