Logo

अर्थ

पुनर्बहालीका लागि प्राधिकरणका निलम्बित अध्यक्ष ओझाले दिए सर्वोच्चमा रिट



काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सरकारविरूद्ध सर्वोच्चमा रिट दायर गरेका छन् । निलम्बित अध्यक्ष ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, अर्थ मन्त्रालय र छानबिन समितिविरूद्ध संयुक्त रिट दायर गरेका हुन् ।

उनले छानबिन समितिका अध्यक्ष कृष्ण गिरी र सदस्यद्वय जीवन प्रकाश सिटौला र कपिलदेव ओलीलाई समेत विपक्षी बनाएका छन् । ओझाले छानबिन समिति खारेजीसँगै निलम्बन फुकुवाको माग दाबी सहित सर्वोच्चमा साउन ८ गते सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् ।

उनले दिएको रिट निवेदनको सुनुवाईका लागि सर्वोच्च अदालतका न्यायाधीश अजिज मुशलमानले नेपाल सरकार तथा अन्य विपक्षीविरूद्ध शुक्रबार कारण देखाउ आदेश जारी गरेको छ भने सोमबार पुनः पेशी तोकिएको छ ।

ओझाको योग्यतामाथि प्रश्न उठाउंदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी र गत १७ चैतमा अधिवक्ता इन्दिरा धमलाका तर्फबाट सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो । योसँगै मन्त्री परिषदको गत असार ३० गतेको बैठकले बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ बमोजिम ओझाविरूद्ध छानबिनका लागि छानबिन समिति गठन गरेलगत्तै उनी निलम्बनमा परेका छन् ।

मन्त्री परिषदको २०८१ फागुन १२ गतेको बैठकले ओझालाई अध्यक्ष पदमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार १०:४३   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।