नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) भित्रको अन्तर्विरोध पछिल्लो समयमा भ्रातृ संगठनबाट विस्फोट हुन थालेको छ । एसकाे भ्रातृ संगठन अनेरास्ववियूबाट सुरु भएकाे विस्फाेट युवा संघसम्म पुगेकाे छ ।
अनेरास्ववियूले समानान्तर कमिटी घोषणा गरेकाे एक महिनापछि युवा संघ नेपालको उपत्यका विशेष प्रदेशको समानान्तर भेला सुरु भएको हाे ।
१६ असारमा अनेरास्ववियूले समानान्तर कमिटी घोषणा गरेको थियो । एसमा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल समूह छन् । खनाल र भुसाल निकटहरू अहिले संस्थापन पक्षसँग रुष्ट छन् ।
युवा संघमा समानान्तर कमिटी
खनाल र भुसाल समूहको युवा संघले बुधबार काठमाडौंमा छुट्टै भेला गरेका छन् । काठमाडौं उपत्यकास्तरीय भएको भेलाको नेतृत्व खनाल, भुसालनिकट नेता सञ्जीव राईले गरेका थिए ।
युवा संघका कुनै पनि कार्यक्रम नभएकाले अब कसरी युवा संघलाई चुस्तदुरुस्त गर्ने भनेर उपत्यका विशेष प्रदेशस्तरीय भेला गरेर कार्यक्रम ल्याउने राईले बताए ।
उनले भने, ‘युवा संघ कार्यक्रमविहीन छ । युवा संघ छ छैन थाहा छैन । अब नयाँ कार्यक्रमका साथ पहिला उपत्यका विशेष प्रदेशमा कार्यक्रम ल्याउँछौँ । त्यसपछि केन्द्रमा पनि समानान्तर समिति बनाएर अगाडि बढ्छौँ ।’
लामो समयदेखि नै युवा संघमा संस्थापन समूह र इतर समूहबीच विवाद छ । संस्थापन समूहले युवा संघमा रोशन थापालाई संयोजक तोकेको छ । थापालाई संयोजक बनाएपछि इतर समूहले राईको नेतृत्वमा समानान्तर समिति गठन गर्ने तयारी गरेको छ ।
उपत्यका विशेष प्रदेशको भेलापछि केन्द्रीय कमिटीमा नै समानान्तर कमिटी बनाएर अगाडि बढ्ने राईले बताए । उनले भने, ‘युवा संघ छ छैन थाहा छैन । निष्क्रियजस्तै छ । अब नयाँ कमिटीबाट कार्यक्रम ल्याउँछौँ । चलायमान बनाउँछौँ ।’
संस्थापन समूहले युवा संघभित्रको समस्या समाधान नगरेको, कार्यक्रम केही नभएको र एकलौटी रूपमा संगठन चलाएकाले बिस्तारै समानान्तर कमिटी हरेक जिल्लामा निर्माण गर्ने तयारी इतर समूहले गरेका छन् । युवा संघमा सुरुबाट नै विवाद थियो । २०८१ साल जेठमा नै युवा संघमा विवाद उत्कर्षमा पुगेको थियो ।
तत्कालीन युवा संघका संयोजक कृष्ण विक र सहसंयोजक नितेश पौडेल समूहबीच विवाद चर्किएको थियो । विवाद चर्किंदै जाँदा समानान्तर कमिटी र कारबाहीसम्म पुगेको थियो ।
विक खनाल र भुसाल समूहका हुन् भने पौडेल नेपाल समूहका हुन् । पौडेलले गत वर्ष जेठमा नै काठमाडौंमा राष्ट्रिय भेला गरेर नेतृत्व तोकेका थिए, जसमा पौडेल र सहसंयोजकमा फुर्वा लामा थिए ।
त्यो समयमा समानान्तर भेला पार्टी अध्यक्ष नेपालको निर्देशनमा आयोजना गरिएको विक समूहले आरोप लगाएका थिए । युवा संघको संस्थापन पक्षले भने पौडेल समूहलाई कारबाही गरेको छ ।




















प्रतिक्रिया