काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा नेपाल तरुण दल केन्द्रीय समितिले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली युवाहरूलाई शुभकामना व्यक्त गरेको छ । अध्यक्ष विद्वान गुरुङद्वारा जारी सन्देशमा युवाहरूको भूमिकालाई राष्ट्र निर्माणको मेरुदण्डका रूपमा चित्रण गर्दै उनीहरूको सशक्त सहभागिता आवश्यक भएको उल्लेख गरिएको छ ।
प्रत्येक वर्ष अगस्ट १२ मा मनाइने अन्तर्राष्ट्रिय युवा दिवसको यस वर्षको नारा ‘SDGs र त्यसभन्दा बाहिरका लागि स्थानीय युवा कार्यहरू’ रहेको छ । यसले स्थानीय तहमा युवाहरूले अगाडि सारेका पहलहरूद्वारा दिगो विकास लक्ष्य (SDGs) मा पुर्याइरहेको योगदानलाई उजागर गर्छ । जस्तै गुणस्तरीय शिक्षा, जलवायु परिवर्तनसँगको लडाइँ, लैङ्गिक समानता र सम्मानजनक रोजगारीको सुनिश्चितता।
नेपालमा यस दिवसलाई ‘दिगो विकासको सार र सुनौलो भविष्य: समृद्धिको आधारको रूपमा स्थानीय युवा सहभागिता’ भन्ने राष्ट्रिय विषयवस्तुका साथ मनाइँदैछ । विभिन्न कार्यक्रममार्फत युवाहरूको योगदान र उनीहरूको सशक्तिकरणमा जोड दिइँदैछ ।
शुभकामना सन्देशमा अध्यक्ष गुरुङले नेपालमा युवाहरूको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै वैदेशिक रोजगार र अध्ययनका कारण युवाशक्ति बाहिरिनु दुःखद् भएको बताए । देशभित्रकै सम्भावनालाई उपयोग गर्दै रोजगारी सिर्जना, शिक्षा र सीप विकास, उद्यमशीलता प्रवर्द्धन तथा पूर्वाधारमा लगानी गर्न सरकारलाई आग्रह गरिएको छ ।




















प्रतिक्रिया