राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कारागारबाट निस्किने आफ्नो चाहना नभएको बताएका छन्।
बुधबार साँझ फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै उनले भिड बढेपछि कारागारले नै आफूलाई जबरजस्ती बाहिर निकालेको बताएका हुन्।
ललितपुरस्थित नख्खु कारागारमा रहेका रवि मंगलबार आन्दोलन क्रममा जेलबाट बाहिरिएका हुन्। उनले आफू प्रक्रिया पुर्याएर बाहिरिएको बताएका छन्।
‘भिड बढेपछि कारागारले मलाई जबरजस्ती बाहिर निकालेको हो। मैले बिनापत्र जान्न भनेको हुँ। उनीहरूले जस्तो पत्र दिए, जस्ताको तस्तै सार्वजनिक गरिसकेको छु,’ उनले भनेका छन्।
उनले त्यसबारे आफूले नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजीहरूलाई समेत भनिसकेको बताए।
‘मलाई तपाईंहरूले आफ्नो कस्टडीमा राख्नुस्, नियन्त्रणमा लिनुस् वा कारागार पठाउनुस् भनेँ। उहाँहरूले नै भन्नुभयो, तपाईं आफै सुरक्षित बस्नुस्। आवश्यक परे सम्पर्क गर्छौं। सुरक्षा दिन नसकेरै हिजो कारागारले तपाईंलाई पत्र दिएको होला भन्नुभयो,’ उनले भने।
सुरक्षा निकायबाट यस्तो जबाफ आएपछि बुधबार नै आफूले न्यायिक निकायहरूलाई समेत औपचारिक जानकारी गराइसकेको उनले बताएका छन्।
त्यस्तै केपी ओली र शेरबहादुर देउवालाई जनताले लखेटे पनि उनीहरूले आफूमाथि लगाएको झुटो मुद्दा नहटेको रविले बताए।




















प्रतिक्रिया