काठमाडौं । नेपाल बार एसोसिएसनले संविधान रक्षाका लागि शुक्रबार (भदौ २८ गते) देशभर विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।
देशको राजनीतिक समस्या समाधान संविधानको दायराबाट खोजिनुपर्ने मागसहित बारले देशव्यापी रुपमा दबाबमूलक कार्यक्रम गर्ने भएको हो।
बार अध्यक्ष डा. विजयप्रसाद मिश्रले भने, “संविधानको दायराबाट मुलुकको राजनीतिक निकास खोजिनुपर्छ भन्ने हाम्रो स्पष्ट माग हो। यसैले संविधानको संरक्षणका लागि हामीले आन्दोलनको बाटो रोजेका हौं।”
बारको आकस्मिक बैठकले शुक्रबार दिउँसो १ बजे देशभरका बार इकाइमार्फत प्रदर्शन गर्ने निर्णय गरेको छ। साथै, केन्द्रले रामशाहपथस्थित बारको केन्द्रीय कार्यालयबाट साँझ ५ बजे थप प्रदर्शन गर्ने जनाएको छ।
कानून व्यवसायीहरु संविधान हातमा लिएर विरोधमा उत्रने तयारीमा छन्। कर्फ्यूको समयमा प्रदर्शन गर्नु संवेदनशील विषय भएकाले कर्फ्यू सकिएपछि मात्रै केन्द्रीय प्रदर्शन हुने जनाइएको छ।




















प्रतिक्रिया