Logo

अन्तर्राष्ट्रिय

चीन र फिलिपिन्सका जहाज ठोक्कियो, उक्त क्षेत्रमा तनाव बढ्ने



काठमाडौं । दक्षिण चीन सागरको विवादित स्कारबोरो सोअलनजिकै मंगलबार चीन र फिलिपिन्सका जहाजहरू ठोक्किएका पछि उक्त क्षेत्रमा तनाव बढ्ने आशंका गरिएको छ ।

चीनको कोस्ट गार्डले फिलिपिन्सको एक सरकारी डुंगाले जानाजानी आफ्नो डुंगालाई ठक्कर दिएको आरोप लगाएको छ । दुवै देशबीच यस क्षेत्रमा दाबीलाई लिएर पहिलेदेखि नै तनाव चलिरहेका बेला यो घटना भएको हो ।

चिनियाँ कोस्ट गार्डले १० भन्दा बढी फिलिपिनी सरकारी डुंगाहरू अलग–अलग दिशाबाट स्कारबोरो सोअलनजिकै पुगेको दाबी गरेको छ । यस क्रममा चिनियाँ जहाजहरूले उनीहरूलाई रोक्नका लागि पानीको फोहरा (वाटर क्यानन्) प्रयोग गरेका थिए ।

चीनले यो क्षेत्रलाई ‘ह्वाङयान टापु’ भन्छ र यसमाथि आफ्नो दाबी गर्छ । यता, फिलिपिन्सले भने यसलाई ‘बाजो दे मासिनलोक’ भन्दै आफ्नो क्षेत्र मान्छ ।

चीनद्वारा नेचर रिजर्भ घोषणाले बढाएको विवाद
यो टक्कर चीनले स्कारबोरो सोअलको एक भागलाई राष्ट्रिय प्राकृतिक आरक्ष घोषणा गरेको ठीक ६ दिनपछि भएको हो । फिलिपिन्सले चीनको यो निर्णयको कडा विरोध गर्दै कूटनीतिक विरोध दर्ता गराउने घोषणा गरेको थियो ।

यस टकराबबारे फिलिपिन्स सरकारबाट तत्काल कुनै भनाइ आएको छैन । तर, उसले गत हप्ता नै चीनको ‘नेचर रिजर्भ’ घोषणाको विरोध गरेको थियो ।

यसैगरी, अमेरिका, बेलायत, अस्ट्रेलिया र क्यानडाजस्ता देशहरूले चीनको यस कदमप्रति चिन्ता व्यक्त गरेका छन् । अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले यसलाई छिमेकीहरूलाई दबाब दिने प्रयास भनेका छन् ।

दक्षिण चीन सागरलाई विश्वको सबैभन्दा रणनीतिक जलक्षेत्रहरूमध्ये एक मानिन्छ । यहाँ माछा मार्ने ठूला क्षेत्रहरू छन् । अन्तर्राष्ट्रिय व्यापारको महत्वपूर्ण मार्ग पनि यहीँबाट गुज्रिन्छ । चीनले यस सम्पूर्ण समुद्री क्षेत्रमाथि दाबी गर्छ भने फिलिपिन्ससहित अन्य धेरै देशको पनि अलग–अलग भागमा दाबी छ ।

फिलिपिन्सको तटरक्षक बल (कोस्ट गार्ड)ले दुईवटा चिनियाँ तटरक्षक जहाजले फिलिपिन्सको माछा मार्ने जहाज बीआरपी दातु गुम्बाय पियाङलाई करिब ३० मिनेटसम्म शक्तिशाली पानीको फोहरा (वाटर क्यानन्)ले अवरोध गरेको बताएको छ । यसबाट कप्तानको क्याबिन र ब्रिजमा क्षति पुगेको छ ।

पानीको फोहराले सिसाको झ्याल फुटेर एक कर्मचारी घाइते भएका थिए भने सर्ट सर्किट हुँदा बिजुलीका आउटलेट र पाँचवटा बाहिरी एयर कन्डिसनिङ एकाइमा असर परेको बताइएको छ ।

कोस्ट गार्ड)का अनुसार एक चिनियाँ नौसेनाको युद्धपोतले पनि रेडियोमा ‘गोलाबारीको अभ्यास’ गरिने घोषणा गरेको थियो । जसका कारण फिलिपिनी माझीहरूमा त्रास फैलिएको थियो ।

मंगलबार फिलिपिन्सको तटरक्षक बल र माछा मार्ने जहाजहरू त्यस क्षेत्रका ३५ भन्दा बढी माछा मार्ने डुंंगाहरूलाई इन्धन, पानी, बरफ र अन्य सहायता प्रदान गर्न शोलमा खटाइएका थिए ।

तनाव अझ बढ्ने आशंका
चिनियाँ कोस्ट गार्डले फिलिपिन्समाथि उक्साउने कार्य गरेको आरोप लगाउँदै यसलाई गम्भीर भनेको छ । अर्कोतर्फ, फिलिपिन्सलाई अमेरिकालगायत धेरै मित्र राष्ट्रहरूको समर्थन छ । विज्ञहरूका अनुसार, यो टकरावले दक्षिण चीन सागरमा तनाव अझ बढ्न सक्छ र यसले क्षेत्रीय स्थिरतामा असर पुर्‍याउनसक्छ ।

बेलायत र अस्ट्रेलियाले पनि यस विषयमा चिन्ता व्यक्त गरेका छन् । फिलिपिन्सस्थित क्यानडेली दूतावासले भने विवादित स्कारबोरो सोअलमाथि नियन्त्रण जमाउनका लागि वातावरणीय संरक्षणलाई माध्यम बनाउने प्रयासको विरोध गरेको जनाएको छ । एपी

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार ०९:२३   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।