Logo

समाचार

जेष्ठ नागरिक कैदीबन्दीलाई हाजिरी जमानामा छोड्नुपर्ने माग



काठमाडौं । जेलभित्र रहेका जेष्ठ नागरिक कैदी–बन्दीहरुले आफूहरूलाई हाजिरी जमानीमा छोड्नुपर्ने माग गर्दै सरकारलाई आग्रह गरेका छन् । हालका प्रधानमन्त्री र गृहमन्त्री ओमप्रकाश अर्याललाई जेल भित्रबाट सम्जिएका छन् । उनीहरूले “हामीलाई जेलमै राख्दा राज्यको ढुकुटीमाथि अनावश्यक भार पर्छ, तर हाजिरी जमानामा छोडिदिँदा सरकारलाई आर्थिक फाइदा हुन्छ” भन्ने तर्क अघि सारेका छन् ।

कैदी–बन्दीहरूले जेलजीवनले झन् थप पीडा दिएको बताएका छन् । विशेषगरी जेष्ठ नागरिक अवस्थामा शारीरिक असुविधा र स्वास्थ्य समस्या बढ्दै जाने भएकाले जेलभित्र बस्न कठिन भएको उनीहरूको गुनासो छ । “जेलमा सुत्ने समस्या छ, खानपिन व्यवस्थित छैन, बिरामी हुँदा उपचार पाउन निकै गाह्रो हुन्छ,” एक कैदीले भने, “हामी अपराध गरेबापत सजाय पाउन तयार छौं, तर बुढ्यौलीमा मानवीय व्यवहार पाउन चाहन्छौं ।”

नेपालका अधिकांश कारागारहरू अहिले क्षमताभन्दा दोब्बर कैदी राखिएका कारण कैदीको दैनिकी झन् कष्टकर बनेको छ । जेष्ठ नागरिक कैदीलाई छुट्टै व्यवस्थापन गर्न कठिन भएको जेल प्रशासनले पनि स्वीकार गर्दै आएको छ । यस्तो अवस्थामा वैकल्पिक सजाय, हाजिरी जमानामा रिहा गर्ने वा सामाजिक सेवामूलक काममा संलग्न गराउने जस्ता उपायहरू प्रभावकारी हुने विज्ञहरूको सुझाव छ ।

यसैबीच, कारागार सुधार अभियन्ताहरूले पनि सरकारलाई तुरुन्तै कदम चाल्न आग्रह गरेका छन् । “जेललाई दण्ड मात्र होइन, सुधारको थलो बनाउनुपर्छ । जेष्ठ नागरिकलाई जेलभित्र थुन्नु मानव अधिकारविपरीत हो,” एक मानवअधिकारकर्मीले बताए, “राज्यले हाजिरी जमानाजस्ता वैकल्पिक व्यवस्था गरेर जेष्ठ नागरिक कैदीलाई सम्मानजनक जीवन दिनुपर्छ ।”

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार १२:२९   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।