काठमाडौं । पहिरोका कारण एक महिनादेखि पूर्णरुपमा अवरुद्ध अरनिको राजमार्गको ट्र्याक खुलेको छ । बाह्रबिसे–कोदारी खण्डको विभिन्न पाँच ठाउँमा खसेको पहिरो हटाएर छिमेकी चीनसँग जोडिएको नेपालको उत्तरी नाकाको ट्र्याक खोलिएको हो ।
तर सवारी साधन अझै सञ्चालनमा आइसकेका छैनन् । सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले आइतबार सबै पहिरो पन्छाइसकिएकाले सोमबार ग्राभेल गर्ने र त्यसपछि मात्र सवारी साधन सञ्चालनमा ल्याइने बताए ।
‘एक महिनादेखि अवरुद्ध बाह्रबिसे–कोदारी सडकखण्डको ट्र्याक आइतबारबाट पूर्णरुपमा खुलेको छ,’ सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख भण्डारीले भने, भोलिबाट ग्राभेल गरेपछि सवारी साधन सञ्चालनमा ल्याइने छ ।’
उनका अनुसार डाक्लाङ क्षेत्रमा तीन वटा पहिरो, घट्टेखोलामा एउटा र कोदारी खण्डमा एउटा गरी पाँच ठाउँमा पहिरो खसेको थियो । पहिरो पन्छाउन सडक डिभिजन कार्यालय चरिकोटले इलेक्ट्रो हाइड्रोको समेत सहयोगमा तीन वटा एस्काभेटर, ३ वटा लोडर, १३ वटा टिपर र ४० जना मजदुर खटाइएको थियो ।




















प्रतिक्रिया