Logo

प्रमुख समाचार

दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि प्रधानमन्त्री कार्कीको काँधमा ९ मन्त्रालय



काठमाडौं । गत २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । यसअघि उनले ३० भदौमा पहिलोपटक मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् । त्यतिबेला उनले कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाललाई नियुक्त गरेकी थिइन् ।

त्यो बेला रामेश्वरप्रसाद खनाललाई अर्थ, कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास तथा ओम प्रकाश अर्याललाई गृह, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनाएकी थिइन् ।

आज (सोमबार) थप चार मन्त्रीले शपथग्रहण गरेका छन् ।  सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले कानुन, न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

यस्तै मदन परियारले कृषि तथा पशुपंक्षी विकास, जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि तथा महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसैबीच प्रधानमन्त्री कार्कीले परराष्ट्र र रक्षासहित ९ मन्त्रालयको जिम्मेवारी दिइएको छ । कार्कीसँग खानेपानी मन्त्रालय, परराष्ट्र मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, रक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी छ ।

यसअघि नियुक्त दुई जना मन्त्रीहरु रामेश्वर खनाल र ओमप्रकाश अर्यालको विभागीय जिम्मेवारी थप र कटौती गरेकी छन् ।

अर्थमन्त्री रामेश्वर खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि थपिएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई कानुन मन्त्रालयको जिम्मेवारी कटौती गरिएको छ । अब अर्यालले गृह मन्त्रालयको मात्र जिम्मेवारी सम्हाल्नेछन् । कानुन मन्त्रालयको जिम्मेवारी सोमबार नियुक्त अनिलकुमार सिन्हालाई दिइएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार १६:०२   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।