सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भदौ २३ र २४ गते भएको आन्दोलनमा जेनजी पुस्ताका पवित्र मागहरूमाथि स्वार्थी समूहले दुरुपयोग गरेको बताएका छन् ।
नेकपा एमाले जनसङ्गठन समन्वय संयन्त्र कर्णाली प्रदेशद्वारा मंगलबार सुर्खेतमा आयोजित भेलालाई सम्बोधन गर्दै कँडेलले पवित्र उद्देश्य बोकेका जेनजी समूहको ब्यानरमा निश्चित उद्देश्य बोकेका व्यक्ति र समूहले प्रविधिको दुरुपयोग गरी वितण्डा मच्चाएको टिप्पणी गरे ।
भ्रष्टाचार नियन्त्रण, स्थिर सरकार र सुशासनजस्ता पवित्र उद्देश्य र माग राखेका जेनजी पुस्ताको आन्दोलनलाई हामी सबैले सकारात्मक मान्नुपर्छ,’ उनले भने, ’तर, उनीहरूलाई प्रयोग गरेर देशको सार्वभौमिकतामाथि प्रहार गर्ने गलत कामहरू भए, जेनजीले पवित्र भावनाका साथ उठाएका मुद्दाहरू दुरुपयोग र पथ भ्रष्ट गरिए ।’
निर्वाचित संस्था फालेर जेनजीको नाम लिनेहरू मन्त्री माग्न दूतावास धाउन थालेको पनि उनले बताए । ’एउटा सार्वभौम राष्ट्रका लागि योभन्दा लज्जास्पद अरू के हुनसक्छ,’ उनले प्रश्न गरे, ’त्यसैले यो आन्दोलनले न अधिकार स्थापित गर्यो न लोकतन्त्र र मुलुकको सार्वभौमसत्तालाई बलियो बनाउने काम गर्यो ।’
हरेक आन्दोलन र क्रान्तिहरूले ल्याएका परिवर्तन गौरव गर्न लायक भए पनि जेनजी पुस्ताको आन्दोलनपछि भएको हिंसात्मक गतिविधि कुनै पनि कोणबाट देशको हितमा नभएको उनले बताए ।




















प्रतिक्रिया