काठमाडौं । नेपाली कांग्रेसभित्र केन्द्रीय समिति बैठक र आगामी १५औं महाधिवेशनको सरगर्मी सुरु हुन लाग्दा प्रभावशाली केन्द्रीय सदस्य एवं महामन्त्रीका सशक्त उम्मेदवार नैनसिंह महरले पार्टीमा संरचनागत सुधारका लागि केही कठोर प्रस्ताव अघि सारेका छन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको उनको विस्तृत विचारले पार्टीभित्र र बाहिर एकैसाथ तरंग पैदा गरेको छ। यसमा दशकौंदेखि नेतृत्वमा रहेका नेताहरूका लागि ‘कुलिङ पिरियड’ को व्यवस्थादेखि वर्तमान पदाधिकारीहरूको जवाफदेहिता खोज्नेसम्मका विषय समावेश छन् ।
पार्टी ‘गौरवपूर्ण इतिहासको समीक्षा गर्दै भविष्यको मार्गचित्र कोर्ने चुनौतीसामु खडा भएको’ उल्लेख गर्दै उनले १४ औं महाधिवेशनका परिवर्तनका आकांक्षा अझै साकार हुन नसकेको टिप्पणी गरेका छन् । विशेषगरी ‘जेन जी’ पुस्ताका सरोकारहरूले पार्टीलाई गहिरो आत्मनिरीक्षणका लागि प्रेरित गरेको उनको भनाइ छ ।
‘कांग्रेसको पुनर्जागरणका लागि अब सामान्य उपचारले सम्भव छैन, शल्यक्रिया आवश्यक छ,’ उनले भनेका छन्, ‘भोलिका कर्णधार र आजको साझेदार पुस्ताले केन्द्रीय समिति मार्फत स्पष्टता खोजेको छ ।’ यसै क्रममा उनले पार्टीको बहुपदीय व्यवस्थाको औचित्यमाथि नै प्रश्न उठाउँदै वर्तमान पदाधिकारीहरूको कार्यसम्पादनको निर्मम समीक्षा हुनुपर्ने बताएका छन् । पदाधिकारीहरूको जवाफदेहिताका लागि उनले चार प्रमुख प्रश्न उठाएका छन्: विधानले निर्दिष्ट गरेअनुसार काम भयो वा भएन? केन्द्रीय समितिले तोकेको जिम्मेवारी पूरा भयो वा भएन? १४ औं महाधिवेशनमा गरिएका व्यक्तिगत प्रतिबद्धताहरू के कति कार्यान्वयन भए? र, पार्टीको घोषणापत्र सरकारमा रहँदा के कति कार्यान्वयन भयो वा गराइयो?
पदाधिकारीको जवाफदेहितासँगै उनले पार्टीभित्रको अवसरको एकाधिकार तोड्न ‘कुलिङ अफ पिरियड’को अवधारणा अघि सारेका छन् । उनले यसलाई पार्टीभित्रको ‘अवसरको सिन्डिकेटमाथिको प्रहार’ को संज्ञा दिएका छन् ।
उनको प्रस्तावमा, ‘तीन पटक सांसद र केन्द्रीय समितिमा रहेका, दुई पटक मन्त्री भएका, अहिले संयन्त्रमा रहेका, ७० वर्ष उमेर पुगेका र अवसर पाएर सार्वजनिक जीवनमा प्रश्न उठेका नेताहरूले एक पटक कुलिङमा बस्नुपर्छ र गाईडको भूमिका खेल्नु पर्छ ।’ यस्तो व्यवस्थाले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने र योग्यता, क्षमता तथा नैतिकतामा आधारित न्यायपूर्ण प्रणाली स्थापित गर्ने उनको विश्वास छ । उनले पार्टी वर्तमान अवस्थामा आइपुग्नुमा कुनै एक व्यक्ति वा पक्षलाई मात्र दोष दिनुको साटो सामूहिक जवाफदेहिता स्वीकार्नुपर्नेमा जोड दिएका छन् । ‘चुनावमा गठबन्धन निर्णय गर्ने, टिकट बाँड्ने, ओली सरकार हुँदा संयन्त्रमा रहने सबैले अहिलेको अवस्थामा आएकोमा जिम्मा लिनुपर्छ,’ उनको भनाइ छ, ‘सत्ताका लागि गरिएका अप्राकृतिक गठबन्धन, नातावादमा आधारित टिकट वितरण, र सिद्धान्तविपरीतका राजनीतिक सहकार्यले पार्टीलाई पुर्याएको चोटलाई सामूहिक रूपमा स्वीकार गर्नुपर्छ।’
उनले १४औं महाधिवेशनले दिएको मिश्रित जनादेश (नेतृत्वमा अनुभव र समितिमा नयाँ पुस्ता) बीच सामञ्जस्यता कायम हुन नसक्दा पार्टी दिशाहीन बनेको विश्लेषण गरेका छन् । महाधिवेशनपछि पार्टी सत्ता सञ्चालन र गठबन्धन व्यवस्थापनमै अल्झिँदा आन्तरिक सुधारका प्रयासले गति लिन नसकेको उनको टिप्पणी छ ।
देश गम्भीर राजनीतिक र संवैधानिक संकटबाट गुज्रिरहेको र युवाहरूको आन्दोलनले समग्र राजनीतिक नेतृत्वलाई नै चुनौती दिएको अवस्थामा कांग्रेसले आफ्नो ऐतिहासिक जिम्मेवारी बहन गर्नुपर्ने उनको निष्कर्ष छ ।
यी साहसिक प्रस्तावको कार्यान्वयनले मात्र ‘जेनजी आन्दोलन’ को मूल मर्मलाई सम्बोधन गर्ने र नयाँ पुस्तासँग टुटेको संवादको पुल जोड्ने उनको तर्क छ । उनले पार्टीलाई अगाडि बढाउन नियमित महाधिवेशन, मौजुदा केन्द्रीय समिति विघटन गरेर महाधिवेशन आयोजक समिति गठन, कार्यवाहकको जिम्मेवारी वा विशेष महाधिवेशन जस्ता विकल्पमाथि छलफल हुनुपर्ने औंल्याएका छन् । उनको यो विस्तृत प्रस्तावले कांग्रेसको आसन्न केन्द्रीय समिति बैठक र समग्र पार्टी वृत्तमा एउटा तातो बहस सिर्जना गरिदिएको छ ।



















प्रतिक्रिया