काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जेनजी आन्दोलनका क्रममा उत्तरपुस्तिका जलेर नष्ट भएका परीक्षा केन्द्रमा पुनः परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय, बल्खुका अनुसार व्यवस्थापन संकाय, मानविकी तथा सामाजिकशास्त्र संकाय र शिक्षाशास्त्र संकाय अन्तर्गत ४ वर्षे स्नातक तह दोस्रो वर्षको आंशिक तथा मौका परीक्षाका उत्तरपुस्तिका जलेका हुन् ।
गत भदौ २२ गते र २३ गतेका परीक्षाका उत्तरपुस्तिकाहरू सुरक्षा कारणले नजिकैको प्रहरी चौकीमा राखिएको थियो । तर जेनजी आन्दोलनका क्रममा उक्त प्रहरी चौकीमा आगजनी हुँदा ६५२ जना विद्यार्थीका उत्तरपुस्तिका नष्ट भएका हुन् ।
यस घटनापछि त्रिविको केन्द्रीय परीक्षा सञ्चालक समितिको असोज २२ गते बसेको बैठकले प्रभावित तीन परीक्षा केन्द्रमा परीक्षा रद्द गरी पुनः परीक्षा लिने निर्णय गरेको हो ।
बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयका अनुसार सम्बन्धित परीक्षा केन्द्रहरू तथा ती केन्द्रमा परेका क्याम्पसहरूले आ–आफ्ना विद्यार्थीलाई तोकिएको मितिमा परीक्षा पुनः दिनु पर्ने जानकारी गराउनेछन् ।
पुनः परीक्षाको मिति र समय तालिका छिट्टै सार्वजनिक गरिने परीक्षा कार्यालयले जनाएको छ ।
प्रतिक्रिया