Logo

प्रमुख समाचार

सरकारले खोजेकै हो त जेनजी मन्त्री ?



प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार जेनजी समुदायलाई सरकारमा सहभागी गराउन तयार छ, तर कसलाई मन्त्री बनाउने भन्ने टुंगो लागेको छैन। जेनजी आन्दोलनका विभिन्न समूहहरूबीच मन्त्री पदका लागि आन्तरिक विवाद देखिएको छ, र उनीहरूले आ-आफ्ना उम्मेदवारहरू अघि सारेका छन्।

सहिद परिवारले सरकारमा आफ्नो प्रतिनिधित्व खोज्दै श्रम, खानेपानी र युवा तथा खेलकुद मन्त्रालयमा सहभागिताको माग गरेका छन्।

काठमाडौँ । यतिबेला सुशीला कार्की नेतृत्वको सरकार जेनजीहरूलाई पनि सरकारमा सहभागी गराउने तयारीमा छ । जेनजी आन्दोलनकै जगमा बनेकाे सरकार उनीहरूलाई नै छाडेर जान पनि चाहँदैन, तर प्रधानमन्त्री कार्कीले कसलाई मन्त्री बनाउने भन्ने आधिकारिक रूपमा जेनजी अगुवाहरूसँग नाम भने मागेकी छैनन् ।

यद्यपि अनौपचारिक रूपमा जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारको तर्फबाट एक जना र जेनजी पुस्ताबाट एक जना सरकारमा सहभागी गराउने उनले बताएकी थिइन् । र उनको यस भनाइपछि जेनजीका विभिन्न समूहहरूले आ-आफ्नै ढंगले तयारी गर्न थालेका छन् ।

सम्भवतः महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय जेनजी पुस्तालाई मन्त्री दिने प्रधानमन्त्री कार्कीको तयारी छ । तर जेनजीहरूले नाम टुंग्याउन सकेका छैनन् । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार जेनजीहरू धेरै हुँदा सबैको चित्त बुझाउन नसक्ने अवस्था छ । ‘अहिले जो पनि जेनजी भन्दै आउँछन्, सरकारलाई सफल बनाउने भन्दा पनि आफ्ना मागहरू धेरै राख्ने भए, जेनजीलाई मन्त्री बनाउन सरकार पोजेटिभ छ, तर मान्छे यकिन भएको छैन,’ प्रधानमन्त्री निकट स्रोतले रातोपाटीसँग भन्यो ।

आन्दोलनपछि जेनजीका विभिन्न समूहहरू अस्तित्वमा देखिएका छन् । सुदन गुरुङ नेतृत्वको ‘हामी नेपाल’को समूह, रक्षा बम, युजन राजभण्डारी लगायतको प्रधानसेनापतिसँग कुरा गर्ने टोली, आन्दोलन आह्वान गरेर भाइरल भएका मिराज ढुंगानासहितको टोली, प्रवेश दाहालसहित केही समूह चर्चामा छन् ।

त्यस्तै आकृति घिमिरे, मोनिकालगायत अभियन्ता सदस्यहरू भएको जेनजी टोली पनि यतिबेला निकै सक्रिय बनेको छ । अर्थात् देशभरका ३९ जिल्लाका प्रतिनिधित्व भएको १२ वटा विभिन्न समूहको ‘जेनजी मुभमेन्ट अलायन्स’ अहिले मुख्य हुन् ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार ००:५७   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।