ढकाठमाडौं । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी तथा लुटपाट गर्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाउन थालेको छ ।
आन्दोलन भएयता अहिलेसम्म उपत्यकाका तीन (काठमाडौं, ललितपुर र भक्तपुर)बाट मात्रै १३२ जना व्यक्ति पक्राउ परेका छन् । कर्तव्य ज्यानदेखि लुटपाट, हातहतियार खरखजना, आपराधिक उपद्रव र अभद्र व्यवहारसम्मको कसुरका व्यक्तिहरू पक्राउ परेर कारबाहीको प्रक्रियामा रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार अहिलेसम्म काठमाडौंबाट ९८ जना पक्राउ परेका छन् । विभिन्न कसुरका उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए ।
उनका अनुसार अनुसन्धान सकेर अदालत पेश भएका मध्ये ६ जना त पुर्पक्षका लागि कारागार समेत चलान भइसकेका छन् । जसमध्ये ४ जना प्रहरी हत्यामा पक्राउ परेकाहरू छन् । २ जना भने आपराधिक उपद्रव कसुरका व्यक्ति रहेको एसपी भट्टराईले बताए ।
परिसरका साथै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र वृत्तहरूको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । काठमाडौंबाट पक्राउ परेकामध्ये सबैलाई परिसर काठमाडौंबाट अनुसन्धान गरी मुद्दा चलाइएको छ ।
अहिले पनि परिसरको हिरासतमा जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी गर्नेहरूमध्ये २२ जना रहेको एसपी भट्टराई बताउँछन् । केहीलाई भने हाजिरी जमानीमा छाडिएको छ । हिरासत बाहिरै रहे पनि उनीहरूविरुद्ध पनि मुद्दा दर्ता हुने प्रहरीले बताएको छ । जेनजी आन्दोलनकै क्रममा कारागारबाट फरार भएकामध्ये १३६ कैदीबन्दीलाई पक्राउ गरेर बुझाइएको प्रवक्ता भट्टराईले बताए ।
त्यसैगरी जिल्ला प्रहरी परिसर ललितपुरले भने जेनजी आन्दोलनमा तोडफोड, आगजनी तथा लुटपाट गरेको आरोपमा अहिलेसम्म २४ जनालाई पक्राउ गरेको छ । जसमध्ये हतियारसहित पक्राउ परेका एक जना र लुटपाटको आरोपमा पक्राउ परेका एक भारतीय गरी दुई जना पुर्पक्षका लागि कारागार चलान भएको परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशी बताउँछन् ।
हिजो मात्रै हतियारसहित ललितपुर प्रहरीले २३ वर्षीय शिवकुमार विकलाई पक्राउ गरेको थियो । खोटाङको साकेला गाउँपालिका–१ घर भएका विकलाई धापाखेलबाट प्रहरीले म्यागजिनसहितको चाइनिज पेस्तोलसहित पक्राउ गरेको थियो । उनीबाट राष्ट्रिय वाणिज्य बैंकको ट्याग भएको ४ लाख ७८ हजार रुपैयाँसहित बरामद भएको थियो ।
जेनजी आन्दोलनको नयाँ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंक समेत लुटिएको थियो ।
यता भक्तपुर प्रहरीले पनि अहिलेसम्म १० जनालाई पक्राउ गरिएको बताएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा डीएसपी ढुण्डिराज नेउपानले १० जनालाई पक्राउ गरिएको बताए । तर ती सबै जनालाई हाजिरी जमानीमा छाडिएको छ ।
जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्नेहरूविरुद्ध अहिलेसम्म भक्तपुर अदालतमा भने कोही कसैविरुद्ध पनि मुद्दा दर्ता भएको छैन ।
जेनजी आन्दोलनको घटनामा जोडिएपछि पक्राउ परेका व्यक्तिहरूको विगत विवादास्पददेखि हत्यासम्मका घटनाहरूमा जोडिएका व्यक्तिहरू पक्राउ परेका छन् ।
७ कार्तिक २०८२, शुक्रबार १९:३८


















प्रतिक्रिया