काठमाडौं । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका २२ मुद्दा लागेका युवक फेरि १६ लाख रुपैयाँ चोरीको आरोपमा पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त गौसलाको टोलीले शुक्रवार चोरीको आरोपमा दीपक गजुरेललाई पक्राउ गरेको हो । प्रहरीले उनलाई १० लाख रुपैयाँसहित पक्राउ गरेको हो ।
केही दिनअघि सिनामंगलस्थित राजश्री बचत तथा ऋण सहकारी संस्थाबाट करीब १६ लाख रुपैयाँ चोरी भएको थियो । सहकारी संस्थाले दिएको उजुरीको आधारमा गौसला प्रहरीको टोलीले खोजीकार्य गरिरहेको थियो ।
त्यही क्रममा दीपकलाई शुक्रवार पक्राउ गरिएको हो । उनको साथबाट करिब १० लाख रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
नुवाकोटको बेलकोट नगरपालिका-९ का दीपकलाई काठमाडौं महानगरपालिका-८ रातोपुलस्थित चेम्बर होटलबाट पक्राउ गरिएको हो। यसअघि उनी विरुद्ध २२ वटा मुद्दा लागेका थिए। जसमध्ये २० वटा मुद्दा सहकारी चोरीकै थिए ।
त्यस्तै, एउटा मुद्दा लागूऔषधको थियो। अर्को चोरीको मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत, काठमाडौंले आदेश दिएको थियो । त्यही मुद्दाका क्रममा उनी पुर्पक्षका लागि केन्द्रीय कारागार, सुन्धारामा रहेका थिए ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते केन्द्रीय कारागारमा पनि तोडफोड गरिएको थियो। त्यही वेला दीपक पनि कारागारबाट भागेका थिए।




















प्रतिक्रिया