Logo

प्रमुख समाचार

आज विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै



 

काठमाडौं । संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मंसिर २८ गते मनाइने संघीय संसद सेवा दिवस आइतबार विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।
वि.सं. २०५८ मा निजामती सेवाबाट संसद् सेवा गठन भएको थियो । संघीय संसद् सचिवालयले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
नेपालको संविधानको धारा २०७ मा संघीय संसद्को कामकारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा तत्सम्बन्धी अन्य व्यवस्था संघीय कानुनबमोजिम हुने व्यवस्था छ ।
निजामती सेवा ऐनबाट निकालेर छुट्टै ऐनद्वारा सञ्चालित संसद् सेवा विशिष्ट, स्वायत्त र व्यावसायिक सेवा हो । संसदीय अभ्यासलाई थप प्रभावकारी, मर्यादित र व्यावसायिक बनाउन छुट्टै ऐनद्वारा संसद् सेवाको गठन गरिएको स्मरणमा हरेक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाउने गरिएको छ ।
राज्यको सर्वोच्च जनप्रतिनिधिमूलक संस्थाका रूपमा रहेको संघीय संसद्लाई प्रशासनिक र प्राविधिक सहयोग पुर्‍याउँदै आएको संसदीय सेवाको भूमिका संविधानको सफल कार्यान्वयन र कानुन निर्माण प्रक्रियामा अत्यन्तै महत्त्वपूर्ण रहेको छ ।
संसद्लाई आवश्यक पर्ने जनशक्ति, सूचना, प्रविधि, भौतिक सामग्रीलगायत उपलब्ध गराउनु संघीय संसद् सचिवालयको कार्य रहँदै आएको छ । संसद् सेवाको विशिष्ट कार्य प्रणालीले विधायिकी कार्य र संसदीय कामकारबाहीमा अविच्छिन्न सहयोग पुगेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आईतवार ०७:४९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।