Logo

राजनीति

ट्रम्पका समर्थक र विपक्षीबीच वाशिङ्टनमा झडप



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लाखौं समर्थकहरुले शनिबार राजधानी वासिङटन डिसीमा भेला भएर मतदानमा धाँधली भएको भन्दै विरोध प्रदर्शन गरेका छन् । उनीहरुले तत्कालै हार नस्वीकार्न ट्रम्पलाई आग्रह गरे । समर्थकहरुमध्ये केहीले ट्रम्प लेखिएका झण्डा बोकेका थिए भने केहीले ‘धाँधली बन्द गर’ लेखिएका ब्यानर बोकेका थिए । समर्थकहरुले ‘ट्रम्प अहिलेसम्मकै उत्कृष्ट राष्ट्रपति’ लेखिएको ब्यान पनि बोकेका थिए । उनीहरुले थप चारवर्ष ट्रम्पले शासन सम्हाल्नुपर्ने भन्दै नारा लगाए ।  

ट्रम्पले आफु र्यालीमा उपस्थित हुनसक्ने संकेत शुक्रबार ट्वीटरमार्फत गरेका थिए । उनले यो समर्थनलाई न्यानो समेत भने । यद्यपि, शनिबार उनको मोटर भर्जिनिया गल्फ कोर्सतर्फ गएको थियो ।  ह्वाइटहाउस फर्कने क्रममा राष्ट्रपति ट्रम्पको गाडी आफ्ना समर्थक भए ठाउँ हुँदै अघि बढ्यो । त्यसक्रममा ट्रम्पले गाडीबाट हात उठाएर समर्थकहरुलाई अभिवादन गरे । 

ट्रम्पले आफ्नो समर्थनमा उर्लिएको जनलहरको फोटो र भिडियो ट्वीटरमार्फत शेयर गरेका छन् । उनले तत्कालै हार स्वीकार्ने कुनै मनसाय नरहेको पनि दोहोर्याएका छन् । ‘लाखौं मानिसले डिसीमा आफ्नो समर्थन देखाएका छन् । उनीहरु धाँधलीपूर्ण र भ्रष्ट चुनावको पक्षमा छैनन्,’ ट्रम्पको ट्वीटमा उल्लेख छ । 

ट्वीटरले ट्रम्पको ट्वीटसँगै यो दाबी विवादित रहेको पनि उल्लेख गरेको छ । ट्रम्पले धाँधलीको आरोप लगाए पनि उनको चुनावी प्रचार अभियानले अझै पनि प्रणालीगत धाँधलीबारे प्रमाण पेश गर्न सकेको छैन । अमेरिकी राष्ट्रपति चुनिनका लागि आवश्यक पर्ने २ सय ७० इलेक्टोरल भोटमध्ये ३ सय ६ भोट डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनको पक्षमा देखिएको छ । इलेक्टोरल कलेजले मतदान गरेपछि जो बाइडेन औपचारिक रुपमा राष्ट्रपति चुनिनेछन् र उनले २० जनवरीबाट कार्यकाल सम्हाल्नेछन् । 

प्रकाशित मिति : कार्तिक ३०, २०७७ आईतबार  ४ : २६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।