काठमाडौं । विभिन्न राजनीतिक दलका समानुपातिक सूचीमा रहेका १६४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेकाअनुसार समानुपातिक तर्फ उम्मेदवारी दिएका १६४ जनाले नाम फिर्ता लिएका हुन् । फिर्ता लिइएका उम्मेदवारको स्थानमा सम्बन्धित दललाई नयाँ नाम पठाउन आयोगले निर्देशन दिएको छ ।
आयोग स्रोतका अनुसार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ७८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा) का २१ जनाले पनि नाम फिर्ता लिएका छन् । यी दुई दलबीच एकता भइसकेकाले लोसपाका तर्फबाट परेका उम्मेदवार फिर्ता लिएर जसपाको सूचीमा समायोजन गरिएको हो ।
त्यसैगरी जनमत पार्टीका २० जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १२ जना, जनादेश पार्टी नेपालका ६ जना, नेकपा एमालेका ५ जना, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का ४ जना र राष्ट्र निर्माण दल नेपालका ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
उन्नत लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जनही २/२ जनाले नाम फिर्ता लिएका छन् । यस्तै गतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, संघीय लोकतान्त्रिक पार्टी र संयुक्त नागरिक पार्टीबाट जनही १/१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
फिर्ता लिइएका उम्मेदवारको सट्टा सम्बन्धित पार्टीले अर्को व्यक्तिको नाम पठाउनेछ । निर्वाचन आयोगले नयाँ नामसमेत समावेश गरी माघ ४ गते समानुपातिक बन्दसूची प्रकाशित गर्ने जनाएको छ । प्रकाशित सूचीमाथि माघ ५ देखि माघ १० गतेसम्म दाबी–विरोध गर्न सकिनेछ ।
दाबी–विरोधका उजुरीमाथि आयोगले माघ ११ देखि माघ १७ गतेसम्म अध्ययन गर्नेछ । सूचीबाट कसैको नाम हटाउनुपर्ने भए माघ १९ गते सूचना प्रकाशन गरिने कार्यतालिका रहेको छ । समानुपातिक उम्मेदवारको अन्तिम सूची माघ २० गते प्रकाशित हुनेछ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक प्रणालीबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन दर्ता माघ ६ गते हुने निर्वाचन आयोगले जनाएको छ ।





















प्रतिक्रिया