काठमाडौं । प्रभु बैँक लिमिटेडकी संचालक अम्बिका शर्मा लामिछानेलाई लगानीकर्ताले जुत्ताको माला लगाउने चेतावनी दिएका छन्।
अख्तियारको दुरुपयोग गरि बैंकको स्रोत साधनको चरम दुरुपयोग गर्दै आएको भन्दै लगानीकर्ता सौरभ भन्डारीले बैंकको २४ औँ वार्षिक साधारणसभामै लामिछानेलाई यस्तो चेतावनी दिएका हुन्।
लामिछानेले अख्तियारको दुरुपयोग गरी आफ्नै छोरा सुबास शर्माको नाममा सरस्वती इभेन्ट्स प्रालि नामक कम्पनी दर्ता गरी सन् २०२१ देखि बैंकबाट विज्ञापनवापत मासिक पाँच लाख रुपैयाँभन्दा बढी रकम लिँदै आएको भन्डारी बताउँछन् । उनका अनुसार लामिछानेले आफ्नै छोराको कम्पनीको नाममा पटक–पटक पाँच लाख, आठ लाख र १३ लाख रुपैयाँसम्म भुक्तानी लिँदै आएको प्रमाणसहित नेपाल राष्ट्र बैंकमा समेत उजुरी परेको छ।
तर, राष्ट्र बैंकले लामिछानेसँग स्पष्टीकरण समेत माग गर्ने आँट नगरेको उनी बताउँछन्।
उनले लामिछानेको नामै किटान गर्दै भन्डारी भन्छन्,- आज विभिन्न बैंक लुटिएको खबर सुइयो तर प्रभु बैंक लुट्न बाहिरका मान्छे आउनै पर्दैन यहीँ छन्, उहाँ लामिछाने ज्यु जस्ता।’
यता, लामिछानेले भने उक्त कम्पनी छोराको नाममा भएको र छोरासँग आफ्नो डिभोर्स भइसकेको बताउँदै उम्किन खोजिरहेकी छन्।
लामिछानेको भनाईलाई उद्धृत गर्दै व्यङ्यात्मक शैलीमा भन्डारीले भने- “पहिले त श्रीमानसँग डिभाेर्स हुन्थ्याे, अहिले छोरासँगै हुने भएछ, कस्तो अचम्म।”
बैंकका लगानीकर्ताले वर्षौंदेखि प्रतिफल नपाएको अवस्थामा संस्थाको नीति निर्देशन तहमै बसेर यस्तो गतिविधि गरिनु गम्भीर विषय भएको भन्डारीले बताए।
“सरस्वती इभेन्ट्स प्रालिको नाममा गएको पैसा के प्रयोजनका लागि हो भन्ने कुरा खोज्न गाह्रो छैन, तर खोज्ने आँट गर्नुपर्यो” उनले भने।
भण्डारीले नियामक निकाय नेपाल राष्ट्र बैंकले समेत कारबाही गर्नुको साटो उल्टै संरक्षण गरिरहेको आरोप लगाए। लामिछानेलाई राष्ट्र बैंक सुपरिवेक्षण विभागका प्रमुख दीर्घ रावलको संरक्षण रहेको भन्दै उनले कांग्रेस- कांग्रेस मिलेको हो ? भन्ने प्रश्न गरे। साथै, उनले बोर्ड सदस्यहरूलाई समयमै गल्ती सुधार्न आग्रह समेत गरे।
“फूलको माला लगाउने कि जुत्ताको माला लगाउने भन्ने निर्णय तपाईंहरूको हातमा छ,” भन्दै उनले राम्रो काममा स्याबासी दिन सकिने र नराम्रो कामको अन्धाधुन्ध समर्थन गर्न नसकिने बताउँदै बैंक व्यवस्थापक र संचालकहरुलाई समेत सुध्रिन चेतावनी दिए।
https://www.facebook.com/share/v/1BdJx6NATa/




















प्रतिक्रिया