Logo

अर्थ

‘जेनजी स्टक’ बाट हाइड्रोपावरमा सिफ्ट भएका हुन् लगानीकर्ता ?



काठमाडौँ । भर्खरै आईपीओ आएका कम्पनीहरु चलिरहेकोमा बुधबारबाट लगानीकर्ता ‘सेक्टर रोटेसन’ गरेर हाइड्रोपावर र फाइनान्स कम्पनीहरुमा सिफ्ट भएको देखिएको छ । विगत केही हप्तादेखि पछिल्लो समय सूचीकरण भएका कम्पनीहरु मात्रै बढिरहेका थिए ।

बन्दीपुर केबुलकार, श्रीनगर एग्रोटेक इन्डष्ट्रिज, एसवाई प्यानल नेपाल, विकास हाइड्रोपावर, सागर डिष्टिलरी, दरमखोला हाइड्रोपावर, बुंगल हाइड्रोजस्ता कम्पनीहरु बढिरहेका थिए ।

आईपीओ शेयरले एक चरणको उचाई छोएर आएको सप्लाई पचाएर पनि यी शेयरहरुले अर्को चरणको उचाई हासिल गरे पछि अहिले साइडवेजमा चलिरहेका छन् ।

जेनजी शेयर नाम दिएका यी शेयरहरु खासै घट्न नमाने पनि पछिल्लो समय टप गेनर, टप टर्नओभरमा भने हाइड्रोपावर र फाइनान्स कम्पनीका शेयरहरु पर्न थालेका छन् ।

बुधबारको कारोबारमा टप १० गेनर कम्पनीमध्ये ७ वटा कम्पनी हाइड्रोपावरबाटै परेका छन् । त्यसमा पनि नारायणी डेभलपमेन्ट बैंक अन्तिम समयमा मात्रै टप गेनरमा उक्लिएको हो । बाँकी २ वटा भने म्युचुअल फन्ड टप गेनरमा छन् ।

कारोबार रकम तथा टप गेनर र टप टर्नओभर हेर्दा पछिल्लो समय लगानीकर्ता विशेषगरी मूल्य नबढेका सस्ता हाइड्रोपावर कम्पनी र धेरै समय साइडवेजमा बसेको फाइनान्स र विकास बैंक समूहका कम्पनीमा सिफ्ट भएको अनुमान गर्न सकिन्छ ।

पछिल्लो समय कुल कारोबारमा हाइड्रोपावर समूह र फाइनान्स समूहका कम्पनीहरुको हिस्सा विस्तारै बढ्दै गएको देखिएको छ । एक हप्ता अगाडिसम्म कुल कारोबारको ४० प्रतिशतभन्दा कम हिस्साको शेयर मात्रै हाइड्रोपावर समूहका कम्पनीहरुको हुने गरेकोमा पछिल्लो समय यो हिस्सा बढदै बुधबार ४८.१४ प्रतिशत पुगेको छ भने फाइनान्स समूहका कम्पनीहरुमा पनि कारोबार रकम बढ्न थालेको छ ।

बुधबार ८ अर्ब ९२ करोड रुपैयाँको कारोबार हुँदा ४ अर्ब २९ करोड रुपैयाँ बराबरको हाइड्रोपावरको मात्रै कारोबार भएको छ । यो भनेको कुल कारोबार ४८.१४ प्रतिशत हो ।

बुधबार कालिका पावर ९.८४ प्रतिशतले बढेर ६ सय २६ रुपैयाँमा कारोबार भयो भने रिभर फल्स पावर ५.५० प्रतिशतले बढेर ३९८ रुपैयाँ ८० पैसामा कारोबार भयो ।

त्यस्तै विकास हाइड्रोपावर ४.९८ प्रतिशतले बढेर ५८० रुपैयाँमा कारोबार हुँदा मान्डु हाइड्रोपावर ४.५८ प्रतिशतले बढेर ८६८ रुपैयाँमा कारोबार भयो । अप्पर लोहरे खोला हाइड्रोपावर ४ प्रतिशत बढेर ४ सय ६८ रुपैयाँ तथा घलेम्दी हाइड्रोपावर ३.७० प्रतिशतले बढेर २ सय ३० रुपैयाँमा र पिपल्स पावर ३.६७ प्रतिशतले बढेर ३ सय ३९ रुपैयाँमा कारोबार भयो ।

बुधबार टप टेन गेनरमा चढेका कम्पनीहरु विगत कैयौं हप्तादेखि १ प्रतिशतभन्दा तलको रेन्जमा साइडवेज चलिरहेका कम्पनीहरु थिए ।बुधबार कारोबार रकममा पनि सबैभन्दा धेरै कारोबार आँखुखोला हाइड्रोपावरको ४३ करोड ३६ लाख रुपैयाँ बराबरको भएको छ ।

त्यस्तै युनाइटेड मोदी हाइड्रोपावरको २८ करोड ९७ लाख रुपैयाँ, राधी विद्युत कम्पनी २८ करोड २५ लाख रुपैयाँ, बुटवल पावर कम्पनी २६ करोड ३ लाख रुपैयाँ, ङादी ग्रुप पावर १९ करोड २७ लाख रुपैयाँ र रिभर फल्सको १५ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार ०७:१०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।