काठमाडौं । निर्वाचन प्रयोजनका लागि प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारले एकै प्रकृतिका दुईवटा बैंक खाता खोल्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै यस्तो व्यवस्था गरेको हो।
केन्द्रीय बैंकका अनुसार निर्वाचन आयोग नेपालको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले उम्मेदवारका नाममा खाता खोल्न सक्नेछन्। यस्ता खाता आमनिर्वाचन सम्पन्न भई निर्वाचन आयोगले बन्द गर्न निर्देशन नदिएसम्म सञ्चालनमा रहनेछन्।
प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार (समानुपातिकसमेत) ले आमनिर्वाचन अभियान समूहअन्तर्गत आम्दानी–खर्च कारोबार गर्न छुट्टै बैंक खाता सञ्चालन गर्नुपर्ने व्यवस्था छ।
सोही प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकै प्रकृतिका दुईवटा खाता खोल्न सहजीकरण गरेको हो। बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८२ को निर्देशन नम्बर २१ को बुँदा नम्बर ४५ मा रहेको “प्राकृतिक व्यक्तिका नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एकभन्दा बढी खाता खोल्न नपाइने” व्यवस्थामा निर्वाचन प्रयोजनका लागि छुट प्रदान गरिएको केन्द्रीय बैंकले जनाएको छ।




















प्रतिक्रिया