Logo

अन्तर्राष्ट्रिय

बंगलादेशमा आज संसदीय निर्वाचन र जनमत संग्रह



ढाका । बंगलादेशमा विद्यार्थी आन्दोलनपछि पहिलो पटक बिहीबार एकसाथ जनमत संग्रह र संसदीय निर्वाचन हुँदै छ । शासन प्रणालीमा सुधार गर्ने लक्ष्यले ल्याइएको ‘जुलाई बडापत्र २०२५’ लाई स्वीकार गर्ने वा नगर्ने फैसला मतदाताले जनमत संग्रहमार्फत गर्नेछन् ।

त्यसैगरी, ६० राजनीतिक दलको सहभागितामा संसदीय निर्वाचन पनि हुँदै छ । संसद्का कुल ३ सय ५० सिटमध्ये ३ सय स्थानमा प्रत्यक्ष मतदान हुनेछ । ५० सिट महिलाका लागि आरक्षित छ । पार्टीले पाएको मतभारका आधारमा उक्त सिटमा उम्मेदवार पठाइनेछ ।

बंगलादेशको निर्वाचन आयोगका अनुसार १२ करोड ७० लाख जनाले मतदाता सूचीमा नाम लेखाएका छन् । उनीहरूले देशभरका ४२ हजार ७ सय ७९ वटा मतदान केन्द्रबाट भोट खसाल्नेछन् ।

बंगलादेशको स्थानीय समयअनुसार बिहान ७ः३० देखि साँझ ४ः३० सम्म मतदान केन्द्र खुला हुनेछन् । विदेशमा रहेकाहरूले पहिलो पटक मतदान अधिकार पाएका छन् ।

उनीहरूले ‘डिजिटल पोस्टल भोटिङ’ प्रणालीमार्फत आफ्नो मत दिनेछन् । १ सय २२ देशमा रहेका ७ लाख ६१ हजार १ सय ४२ बंगलादेशी नागरिकले मतपत्र लिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार ०७:११   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।